पर्यटनमा कोरोना प्रभाव : अन्योलमा अनिता

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
anita

पोखरा । विगतमा पसलअघि हुलका हुल पर्यटक ओहोरदोहोर गर्थे । सिजनको बेलामा त थामिनसक्नु हुन्थ्यो । अहिले एउटै पनि पर्यटक मुस्किलले देखिन्छन् । सडक सुनसान छ । बजार पूरै शून्य लाग्छ । मानौं यो श्मशान हो ।

पोखराको फेवाताल किनार, लेकसाइड । नेपालकै प्रमुख पर्यटकीयस्थल । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रभाव ६ महिनादेखि यहाँ नराम्ररी परेको छ । चीनको वुहानहुँदै नेपालमा गत वर्ष माघ ९ मा देखा परेको कोरोना भाइरस प्रभाव अझै मेटिएको छैन । कहिले हट्ने हो अनिश्चित छ ।

सरकारले महामारी न्यूनीकरणका लागि १२० दिने लकडाउन समेत गर्‍यो । लकडाउन हटाएपछि पटक पटक कास्कीमा निषेधाज्ञासमेत भयो । अहिले पनि विभिन्न सेवामा रोक लगाइएको छ । सार्वजनिक यातायात चल्न पाएका छैनन् । पसल व्यवसाय पनि कोरोनाविरुद्ध आवश्यक मापदण्डमा मात्र चलाउन अनुमति छ । निजी सवारीसाधन बिहान जोरबिजोर मात्र २ घण्टा चलाउन पाइन्छ । दिनहुँजसो कोरोना संक्रमित थपिएको थपियै छन् । मानिसहरु हत्तपत्ति घरबाहिर निस्कन चाहँदैनन् । आर्थिक संकट गहिरिँदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा परेको छ ।

आउटफिट ह्याण्डिक्राफ्ट स्टोर संचालक हुन्, अनिता ढकाल । पोखरा ६, लेकसाइड अम्बोटको एउट सटरमा उनको पसल संचालन भएको २२ वर्ष पूरा भयो । उनले विशेषगरी विदेशी पर्यटक लक्षित सामान बेच्छिन् । तर ग्राहकसँग अचेल सम्बन्ध टुटेको छ । त्यसैले उनको आँखामा पहिलेको मीठो दृश्य बरोबर नाच्दो रहेछ ।

हालैको एक बिहान भर्खरै पसल खोल्ने तरखरमा रहेकी ढकालले विगत स्मरण गर्दै भनिन्, ‘पहिले–पहिले सिजनको बेलामा विदेशी पर्यटकहरुको लर्को लाग्थ्यो । कारोबार पनि उस्तै हुन्थ्यो । एकै दिनमा २ लाखको कारोबार पनि भयो । अहिले २ सय नि हुँदैन ।’

उनको घर धादिङको नीलकण्ठ नगरपालिकाको पौवा हो । परिवारमा श्रीमान् र २ छोराहरु छन् । चैत ११ मा लकडाउन सुरु भएपछि केही महिना ढकाल परिवार पसल ‘लक’ गरी गाउँ फर्कियो । ४ महिनापछि गत साउन ७ मा लकडाउन खुल्यो । खासै कारोबार नहुने देखेपछि श्रीमान् सुशील ढकालले अनितालाई पोखरा फर्किन सल्लाह दिए । उनी १४ र ८ वर्षका २ छोराहरु च्यापेर पोखरा फर्किन् । किनकि मदरल्याण्ड बोर्डिङमा ८ कक्षामा पढ्ने ठूलो छोराको अनलाइन कक्षा छुटिरहेको थियो । कान्छो मन्टेसरी पढ्थे । अब स्कुल सारेर कक्षा १ भर्ना गर्नुपर्ने छ ।

४ महिना गाउँ बसेर सहर फर्केकी अनिताले पोखरा आएको भोलिपल्ट पसल खोलिन् । पसलको कुनाकानी माकुराको जालो लागिसकेको रहेछ । पसलका सामानहरु पनि मैलो बनिसकेका थिए । उनले सबैतिर सरसफाइ गरिन्, धूपबत्ती बालिन् । पहिलो दिन पसल खोल्ने काममात्र भयो । एक रुपैयाँ पनि कारोबार भएन । पसलमा कोही छिर्दै छिरेनन् ।

कोरोना महामारीविरुद्ध लकडाउन, निषेधाज्ञा लगायत कारण उनको व्यवसाय चौपट्ट छ । बिहानीको सूर्यको ताप बढ्न थालेपछि अनिताको पसल खोल्ने ‘टाइम’ हुन्छ । खाना खाइवरी डेरा कोठाबाट नजिकै रहेको पसल खोल्न आउँछिन् । लकडाउनअघि भने बिहान ७ बजे उनको पसल खुलिसक्थ्यो । अहिले हतारो छैन । आफ्नो पसल छेउछाउका पसलहरु अझै पनि ‘लकडाउन’ मै छन् । खोलेको देखिँदैन । तैपनि उनी दुईचार पैसा कारोबार भैहाल्छ कि भन्ने आशामा पसल सरसफाइ गरी धूपबत्ती बाल्छिन्।

उनका अनुसार पसलमा करिब ५० लाखको लगानी परेको छ । मासिक ४० हजार रुपैयाँ घरभाडा तिर्नुपर्छ । ६ महिनायता कारोबार ठप्प भैसक्दा पनि भाडा खप्टिएको–खप्टियै छ । झण्डै साढे २ लाख रुपैयाँ भैसकेछ । घरधनी डम्मरबहादुर गुरुङले केही छुट दिने भनेका रहेछन् । केही राहत मिल्यो ।

उनले भनिन्, ‘खै ! कहिलेसम्म यस्तो हुने हो । दसैँसम्म हेरौं, के हुन्छ ? कति धेरैले पसल छोडिसकेको सुनिएको छ । हामी पनि अन्यौलमै छौं । उहाँ (श्रीमान्) ले पनि यस्तै रही रहे विकल्प खोज्ने भन्नुभएको छ ।’

उनले अगाडि भनिन् , ‘छोराको अनलाइन कक्षाको लागिमात्रै भए पनि फर्केकी हुँ । विदेशी पर्यटक नभएपछि कारोबार हुँदैन । लोकलले त्यति किन्दैनन् । कुनै दिन त हुँदै–हुँदैन । कहिले २ सय रुपैयाँ कारोबार समेत नहुने भएकोले पसल खोल्नुमात्रै हो ।’ श्रीमान्ले २२ वर्षदेखि पसल चलाउँदै आएका हुन् । अनिता पनि बिहेपछि १६ वर्षदेखि साथै छिन् । उनका अनुसार पसलमा टिसर्ट, ज्याकेटहरु पाइन्छन् । ढकाल दम्पतीको पनि सेयर रहेको नाइस नेपाल कम्पनीले लेकसाइडमै टिसर्ट उत्पादन गर्दछ । त्यही उत्पादित केही टिसर्टहरु पनि यहाँ बिक्री–वितरण हुने गरेको उनले बताइन् । कोरोना प्रभावले कम्पनी पनि बन्द छ ।

लेकसाइडमा उनको मात्र हैन, अधिकांश पसल बन्छ छन् । लामो समय भो सटरका चाबी नखुलेको । केही खुलेका पसलमा पनि कारोबार छैन । सरकारले गत साउन १५ देखि होटल तथा रेष्टुरेन्ट मापदण्ड अपनाएर खोल्न सकिने जनाएपछि सीमित कर्मचारी राखेर १० प्रतिशतजसो खुले । सिजन कुरेर बसेका केही होटल व्यवसायीहरुको आशा पनि रित्तो हुने देखिन्छ । पोखराका कुल ३३ मध्ये मात्र वडा २० बाहेक सबै वडामा संक्रमण फैलिएको छ । एकपछि अर्को संक्रमित देखिन थालेपछि वडा १०, १२ र १३ मा ‘सिल’ छ । हाल आन्तरिक उडान छैनन् । सार्वजनिक यातायात चलेका छैनन् ।

पर्यटन क्षेत्रमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्डबमोजिम हुने गरी होटल तथा रेष्टुरेन्ट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक–अवे) मात्र पाइन्छ ।

पर्यटकीय क्षेत्रअन्तर्गत होटल तथा रिसोर्ट, रेष्टुरेन्ट तथा बार, टे«किङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्प्युप्मेन्ट सप, इम्ब्रोइडरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसाय लगायत गरी पोखराको समग्र पर्यटन क्षेत्रमा व्यवसायीको १ खर्ब २५ अर्ब लगानी परेको व्यवसायीहरु बताउँछन् । तर कोरोना भाइरस महामारीका लागि संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ ।

कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । त्यसो त पर्यटन व्यवसायीहरुले बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशयी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पुनः लयमा फर्काउन ४/५ वर्षसम्म लाग्ने अनुमान गर्छन् । कोरोना महामारी नहुँदो हो त अहिलेको समय पर्यटक सिजन हो ।

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘विगतको तुलनामा पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक बन्यो । अब मास टुरिजम पहिलेझैं फर्काउन धेरै वर्ष कुुर्नुपर्छ । पर्यटन क्षेत्र पुनर्जीवन दिन सरकारले राहतस्वरुप घोषणा गरेको पुनर्कर्जा सुविधा प्राप्त गर्न अनावश्यक झन्झट हटाउनुपर्छ ।’

ठूला, साना तथा मझौला सबै प्रकारका पर्यटन व्यवसायहरु पलायन हुनबाट जोगाउन सबै तहका सरकारले समन्वय गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width