‘जागौं पोखरा’ अभियान

विनिता सुनार
भाद्र २१, २०७७
khalda

पोखरा । सुन्दर नगरी पोखरालाई स्मार्ट सिटी बनाउने महानगरको योजना कार्यान्वयन हुन सकेको छैन । देशकै ठूलो क्षेत्रफलमा फैलिएको पोखरा महानगरमा मेयर पदमा बाजी मारेपछि सोही दिन मानबहादुर जिसीले प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए, पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्नेछु । महानगरमा सडक खाल्डा परे २४ घण्टाभित्र मर्मत गर्नेछु । स्थानीय तह पुनःर्संरचना भैसकेको पनि ३ वर्ष भैसक्यो । तैपनि स्मार्ट सिटीको सपना बोकेको पोखरामा खाल्डाखुल्डीका समस्या ज्यूँका त्यूँ छन् ।

पोखरा महानगरले जतिसुकै पोखरालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेपनि जनताले यतिका समय बितिसक्दा पनि अनुभव गर्न पाएका छैनन् । यतिमात्र नभई महानगरपालिकाले सार्वजनिक गरेका नयाँ–नयाँ कार्यान्वयन तहमा लैजान सकेको पाइँदैन ।

मेयरका सँगसँगै समग्र महानगरका विभिन्न प्रतिबद्धता पूरा गराउनबारे दबाब दिन पोखराका युवाहरुले ‘जागौ पोखरा’ अभियान सुरु गरेका छन् । ‘नागरिकका समस्या, हाम्रो सरोकार’ भन्ने मूलनाराका साथ पोखरा वरपर भएका समस्या मध्यनजर गर्दै ‘जागौ पोखरा’ सुरु गरिएको अभियन्ताहरु बताउँछन् ।

स्थानीय सरकार आएपनि देशमा हुने भ्रष्टाचार, अनियमिततासँगै बढ्दो विकृति–विसंगति कारण विधिगत रुपमा काम नहुँदा नागरिकले भोग्नुपरेको समस्या मध्यनजर गर्दै सो अभियान सुरु गरिएको अभियन्ता अशोक खड्काले बताए ।
‘स्थानीय सरकारले चुनावताका स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेपनि हालसम्म उक्त काम सम्पन्न हुन सकेका छैनन्,’ उनले भने, ‘सम्बन्धित निकाय र जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन अभियानको सुरुवात गरेका हौं ।’
‘स्थानीय सरकार आएपनि जनताले जुन तरिकाले विकासको सपना देखेका थिए, अझै पूरा हुन सकेको छैन,’ उनी भन्छन् ‘झण्डै ३ वर्ष पुगिसक्दा पनि सोचेजस्तो विकास नभएपछि युवा मिली केही गुर्नपर्छ भनी एकजुट भएर लागेका हौं । ‘हाम्रो यो दोस्रो प्रयास हो । योभन्दा पहिला ‘इनअफ इज इजफ’ अभियान समेत सुरु गरेका थियौं ।’

उनका अनुसार जागौं पोखरा अभियानको मुख्य उद्देश्य भनेकै पोखरामा भएको अनियमितता, भ्रष्टाचार, कुरीति र कानूनविपरीत भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउनु हो ।

अभियानमार्फत् हामीले महानगरपालिकामा भएको १३ करोड घोटालाबारे समाचार पढेपश्चात् ‘१३ करोड खै मयेरसाब ?’ लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरेका थियौं । जसमा मेयर जिसीले १३ करोडको घोटाला नभई १ करोड ७३ लाख रुपैयाँ मात्र हिसाब नमिलेको दाबी गरेका थिए । अभियन्ता खड्काका अनुसार १३ करोड घोटालाको हिसाब मेयर जिसीले १५/२० दिनमा सबै क्लीयर गरेर देखाउने बताएका थिए । तर अहिलेसम्म पनि हिसाब आउन सकेको छैन ।

हामीले धर्ना बसी १३ करोड घोटालाको खोजी गरेको २६/२७ दिन भइसकेको छ । अझैसम्म १३ करोड घोटालाको बारेमा महानगर बोलेको छैन । त्यसकारण आइतबार पुनः यही विषयमा धर्ना बस्ने योजना रहेको उनले बताए ।

योसँगै जागांै पोखराले लकडाउन बेला यातायात कार्यालयले सेवा गरेवापत एक्स्ट्रा चार्ज लिने गरेको थाहा पाइएपछि यो विषयमा पनि आवाज उठाएका थियो । अहिले अतिरिक्त शुल्कबिना नै काम भइरहेको उनी बताउँछन् ।

त्योलगत्तै सडक दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित आफूले खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरेको उनले बताए । ‘पोखरा महानगर र सडक विभाजनको सहकार्यमा हामीले खाल्डाखुल्डी पुर्ने काम सुरु गर्‍यौ,’ उनी भन्छन्, ‘उक्त अभियानअन्तर्गत पोखरा महानगरपालिकाभित्र सडकहरुमा भएका खाल्डाखुल्डी पुर्ने काम समपन्न भएको छ ।’

अहिले पोखराको पृथ्वीचोक, रत्नचोक, सृजनाचोक, सिम्पानी, रानीपौवा, बिरौटा, बगर लगायतका विभिन्न स्थानका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको छ । यतिमात्र नभई महानगरभित्र कुनै पनि सडक वा गल्लीभित्र खाल्डाखुल्डीका कारण समस्या भएमा हामी आएर त्यसको समाधान गर्ने उनीहरुको प्रतिबद्धता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width