हिमाली जिल्लामा स्याउ सूपर जोन : बैशाखमा रोपेको बिरुवा भदौमै फल्यो

प्रकाश ढकाल
भाद्र १३, २०७७
Apple

पोखरा। गण्डकी प्रदेश सरकारले असारमा ४३ हजार स्याउका बिरुवा इटालीबाट ल्याएर प्रदेशका ३ जिल्लामा बाँड्यो । सबैभन्दा धेरै मनाङमा २३ हजार १ सय ७० वटा बिरुवा दिइएको छ । मुस्ताङमा १४ हजार १ सय ४० र उत्तरी गोरखामा ५ हजार ९ सय ३० वटा बिरुवा वितरण भएको छ । बैशाखको अन्तिम साता रोपिएको बिरुवाले भदौको पहिलो सातादेखि फल दिन थालिसकेको छ । ‘प्रदेशको सफल योजना भयो, स्याउ । धेरै किसानले स्याउ फल्न थालिसकेको खबर गरेका छन्,’ कृषि मन्त्री लेखबहादुर थापाले भने, ‘सरकार उत्साही छ । किसानको माग अनुसार फेरि पनि बिरुवा वितरण गर्ने सोच बनाएका छौं ।’ प्रदेशले ३ वटा जिल्लामा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको छ ।

उत्तरी गोरखाका पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाले समूहमा स्याउ खेती सुरु गरेका थिए । चुमनुब्री ४ प्रोकमा ४ हजार ३ सय ७० वटा बिरुवा रोपेका थिए, उनले । ती बिरुवामा स्याउको दाना लाग्न थालिसकेको उनले बताए । ‘फूल फुल्ने बेलैमा कटिङ गरिदिएँ । बोटलाई समस्या पर्छ भनेर काटेको हो,’ उनले भने, ‘फागुनमै रोप्न पाएको भए अहिले एउटै बोटमा १० किलोभन्दा बढी फल्थ्यो । ढिलो रोपे पनि फल लागेको थियो तर पछि राम्रो उत्पादन हुँदैन भनेर कटिङ गरेको छु ।’

उनका अनुसार फल लिन हतार गरे बोट राम्रो हुँदैन र पछिल्ला वर्षहरुको उत्पादन पनि घट्छ । लामाको समूहले इन गोर्खा प्रोडक्ट नामको स्याउ फार्म थालेका हुन् । प्रदेश सरकारले ल्याएको बिरुवा ७० प्रतिशत अनुदानमा किसानले किनेका छन् । फार्मसम्म पु¥याउँदा एउटा बिरुवाको २ हजार ७ सय रुपैयाँसम्म परेको लामाले जानकारी दिए । पुरानो जातभन्दा अहिलेको बिरुवाबाट बढी फाइदा हुने किसान बताउँछन् । ‘पुरानो जातको पनि छ । तर परम्परागत रुपमा परिवारले खानमात्रै लगाउँछन्,’ लामा भन्छन्, ‘स्याहार नगरेर त्यसले धेरै उत्पादन दिएन । राम्रो हेरचाह गर्ने हो भने त्यही बिरुवाले पनि ६० वर्षसम्म फल दिन्छ ।’ अहिलेको बिरुवा बढीमा २५ वर्षसम्म उत्पादन दिने खालका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख माधव लम्साल सुरुको उत्पादन खासै राम्रो नहुने बताउँछन् । ‘सुरुको उत्पादन राम्रो हुँदैन । दोश्रो वर्षबाट बेच्न र खान मिल्छ,’ उनले भने, ‘अब अर्को वर्षदेखि सबै बोट उत्पादनका लागि तयार हुन्छन् । सबैमा क्षमता अनुसार स्याउ फल्छ ।’ सरकारले इटालीबाट गाला, फुजि र गोल्डेन जातका स्याउका बेर्ना हिमाली जिल्लाका किसानलाई उपलब्ध गराएको हो । मुस्ताङमा मात्रै विभिन्न तहले ३० हजारभन्दा बढी बिरुवा वितरण गरेका छन् । स्याउ सूपर जोन कार्यक्रमले ५ हजार स्थानीय बिरुवा र १० हजार ४ सय वटा उच्च घनत्वको बिरुवा वितरण गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि १ हजार बिरुवा बाँडेको छ ।

जिल्लाभर १ हजार २ सय हेक्टरमा स्याउ खेती छ । १ हजार ५ सय हेक्टरमा स्याउ खेती हुने सम्भावना छ । हाल ५ सय हेक्टरबाट उत्पादन भैरहेको लम्सालले जानकारी दिए । किसानहरुले वार्षिक ६ हजार मेट्रिक टन स्याउ बेचेर ६० करोड भन्दा बढी भित्र्याउँछन् । मुस्ताङमा पहिलो पटक उच्च घनत्वको स्याउका बेर्ना उत्पादन गर्न नर्सरी पनि सुरु गरिएको छ । ‘नेदरल्याण्डबाट रुट स्टक ल्याएर नर्सरी बनाइएको छ । अहिले २ हजार ५ सय बिरुवा उत्पादन भैसक्यो । १ हजार बिरुवा अर्को वर्ष उत्पादन हुन्छ,’ लम्सालले भने, ‘नेपालमा यो नै पहिलो उच्च घनत्वको बिरुवा उत्पादन गर्ने नर्सरी हो ।’

इटालीबाट ल्याइएका बिरुवा सुरुमा धेरै लगानी हुने र छिटो उत्पादन दिनेखालका हुन् । यो बिरुवाले रैथाने जातमा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् । ‘रुट स्टकमात्रै फरक हो । जात उही हो । मार्फामा भएका स्याउका जातमै कलमी गरिएको हो,’ लम्सालले अघि थपे, ‘रैथाने ब्राण्ड हराउँदैन । फलमा कुनै भिन्नता आउँदैन ।’ मनाङमा पनि यही बिरुवाले दक्षिण एसियाकै ठूलो स्याउ फार्म सुरु गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width