माथ्लो मुस्ताङमा यार्तुङ: राक्पाको काँधमा राजारानीको फोटो

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
yartung

पोखरा । पुरानो दरबारमा बिहानैदेखि भेटघाट र आउजाउ चलिरहेको थियो । ठाँटका साथ सजिएका मान्छेहरु । बाजा र रङ्गीचङ्गी घोडाहरु । घन्किरहेको थियो, शुभकामना गीत । बजिरहेको थियो, बाजा । दिउँसोपख बाजाको अलि पछिल्तिरबाट कुल देवताको घोडा निस्कियो । घोडामाथि मुख्य पुजारी थिए, आम्ची घ्याच्चो । त्यसपछि राजाको घोडा (राक्पा) निस्कियो । पोहोरझैं घोडामाथि राजा थिएनन् । राक्पाको काँधमा राजारानीको फोटो थियो । राजारानीको फोटोमा सबैले खादा लगाइदिए । वरमा (यार्तुङ मेला लाग्ने ठाउँ) पुगेर फोटोलाई नै शुभकामनाको गीत सुनाए । त्यही फोटो लिएर फर्किए, केहीबेर घोडा कुदाए । फोटोलाई दरबारभित्र हुलेर दुई दिनको यार्तुङ सकियो । मंगलबार लामाहरुको यार्तुङ हुन्छ ।

कोरोनाका कारण जिग्मे सिंगे परवल विष्ट काठमाडौंमै अड्किएपछि राजा चढ्ने घोडामाथि राजारानीको फोटो थियो ।

उपल्लो मुस्ताङको लोमान्थाङमा आइतबारदेखि यार्तुङ सुरु भएको छ । बर्खा सकिएपछि गाउँले भेला भएर मनाइने पर्व हो, यार्तुङ । यार्तुङको रौनक भनेकै विशेष पहिरनमा सजिएर दरबारबाट निस्किँदै गरेका राजा हुन् । यसपालिको यार्तुङ लोमान्थाङवासीले संस्कृतिको निरन्तरताको रुपमा मात्रै मनाए । खासै रौनक भएन । ‘कोरोनाले गर्दा पहिलेजस्तै खुला रुपमा मनाउन पाइएन । राजा नहुँदा त पर्व नै खल्लो महसुस भयो,’ लोमान्थाङका मुखिया ज्ञानेन्द्र विष्ट भन्छन्, ‘वहाँहरुको फोटो लिएर परम्परा धान्ने हिसाबले मात्रै यो वर्षको यार्तुङ मनाइयो । मान्छे पनि धेरै थिएनन् ।’ यसअघि जिग्मे परवल विष्ट राजा भएको बेला पनि एकपटक राजाबिनाको यार्तुङ मनाइएको थियो । त्यतिबेला उनी बिरामी थिए । यार्तुङ पर्वको पहिलो दिन राजालाई शुभकामना दिने र दीर्घायुको कामना गरेर मनाईन्छ । दोश्रो दिन उसैगरी रानीको पालो आउँछ । तेश्रो दिन लामा गुरुहरुको यार्तुङ हुन्छ । राजाले पुरै गाउँको पुरुषको प्रतिनिधित्व गर्छन् भने रानीले महिलाहरुको ।

गाउँलेहरुको अनुभवमा अहिलेसम्मकै सबैभन्दा खल्लो यार्तुङ हो, यो वर्ष । कोरोनाका कारण राजा जिग्मे सिंगे परवल विष्ट काठमाडौंमै अड्किए । पछिल्लो समय पश्चिमा संस्कृतिको हस्तक्षेपले हिमाली क्षेत्रका परम्परामा पनि धक्का लागिरहेको छ । गाउँलेले घोडा पाल्न छोडेका छन् । त्यसको प्रभाव मेला पर्वमा परेको छ । ‘डेढ सयभन्दा बढी घोडा दौडिन्थे । अहिले त्यो रौनक छैन,’ सांसद इन्द्रधारा विष्ट भन्छन्, ‘मान्छेहरु आधुनिक बन्ने रहरले परम्परागत संस्कार जोगाउन मुस्किल भएको छ ।’ नयाँ पुस्ताले पुराना संस्कार टिप्न लाज मान्ने गरेको उनको भनाइ छ । ‘अहिले बाजा बजाउने मान्छे खोज्दा पाइँदैन । म आफै अघि सरेर बजाउन थालें,’ उनले सुनाए, ‘अलिअलि नयाँ भाइहरु पनि बजाउँछन् तर लाज मान्छन् । ऊबेलाका गीत गाउन धेरैलाई आउँदैन ।’

एक सय ४४ घर रहेको लोमान्थाङमा ८ सय जनसंख्या छ । धेरैजसो पोखरा र काठमाडौं बस्छन् । विदेश पनि पुगेका छन् । पैसा कमाउन थालेपछि उनीहरुले कृषि र पशुपालनमा जाँगर चलाउँदैनन् । तर चाडबाड भने मनाइरहेका छन् । यार्तुङका बेला वर्षभरी कुनै महाविपत्ति नहोस् भनेर कामना गरिन्छ । पूजापाठ हुन्छ । भोटे (लोवा) भाषामा ‘यार’ भनेको बर्खा र ‘तुङ’ भनेको रमाइलो हो । बर्खा सकिएपछि गाउँले भेला भएर दुःख बिर्सिने मेला हो यार्तुङ । कुदाङ, टोमालाङ, पोतालिङ, झ्यादाङ र छोरा टोक्पो गरी ५ समूहमा युवाहरु बाँडिन्छन् । उनीहरुबीच घोडा दौडाउने प्रतिस्पर्धा हुन्छ । घोडा दौडाउनेले निशाना फुटायो भने गाउँभरीकै शत्रुनास हुने र ‘अलच्छिन’ हट्ने जनविश्वास छ । यार्तुङलाई सुरक्षा कवचको रुपमा लिइन्छ ।

राज्य व्यवस्था फेरिएपछि देशमा राजासंस्था छैन । तर लोमान्थाङवासी राजा छोड्न मान्दैनन् । जिग्मे परवल विष्टको निधन भएपछि उनका छोरा राजा हुनुपर्ने हो । राजकुमारले राजाको औपचारिक जिम्मेवारी लिएका छैनन् । यद्यपि गाउँमा हुने सबै गतिविधिमा उनको सक्रियता कायम छ । राजाले गर्ने सबै कामकाज उनैले गर्छन् । उनी राजसंस्था र उपल्लो मुस्ताङका परम्परालाई पर्यटनसँग जोड्ने अभियानमा छन् । त्यही नमुनाका लागि विष्टले पनि लोमान्थाङमा सुविधासम्पन्न होटल खोलेका छन् । लोमान्थाङमा गरिबीका कारण केही समय यार्तुङ मनाउनै छाडे । अलि सजिलो भएपछि पछिल्लो १८ वर्षदेखि भने निरन्तर मनाउन थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width