जनप्रतिनिधिको कृषि कर्म

सविन लामिछाने
भाद्र ९, २०७७
buddhi maya

दमौली । व्यास–६ चारघरेकी बुद्धिमाया बिक जनप्रतिनिधि हुन् । उनी हरेक दिन छरछिमेकको मेलापात जान्छिन् । आफ्नो दैनिकी सकेपछि सामाजिक कार्यमा व्यस्त हुन्छिन् । रोपाइँ जाँदाहोस् वा भैंसी हेर्न गोठालो जाँदा समेत ‘नमस्कार’ भने पाइरन्छिन् । वडाको बैठक हुँदा वडा कार्यालय पनि पुगिसक्छिन् । नभए मेलापात र गोठाला जान व्यस्त हुन्छिन् ।

‘काम गरेर थाकिँदैन, काम गरेर खाने मान्छे हुँ’ उनले भनिन्, ‘भैँसी छन् । यिनैको घाँस, दानापानी गर्दा गर्दै दिन गएको पत्तै हुन्न ।’ उनले थपिन्, ‘बैठक हुँदामात्रै वडा कार्यालय जान्छु । नत्र यही घरधन्दामा दिन बित्छ ।’ चुनाव लड्दा गरेका प्रतिबद्धता विस्तारै पूरा हुँदै गएछ,’ सन्तोष हुँदै उनले भनिन् ।

‘चुनाव लड्न खर्च जुटाउनु पर्‍यो । प्रचारप्रसार गर्नुपर्‍यो । ३० हजारको पाडो बेचेँ र चुनाव लडेँ,’ उनले सम्झँदै भनिन्, ‘चुनावमा मेरो ६० हजार खर्च भयो । यहीँ मेस चलेको थियो । प्रचारप्रसारमा हिंडेका कार्यकर्तालाई खाना खुवाउनुपर्‍यो । झण्डा व्यानर पनि बनाउनुपर्‍यो ।’ उनले अहिले २ भैँसी ४ वटा बाख्रा पालेकी छिन् ।

बुद्धिमायामात्र होइन, व्यास ५ की लक्ष्मी बिकको पनि दैनिकी त्यस्तै छ । उनी वडा ५ की वडा सदस्य हुन् । बंगुरफर्म चलाएकी छन् । नगरपालिका, वडा कार्यालय तथा सार्वजनिक कार्यक्रम हुँदामात्र जाने गर्छिन् । नत्र उनको दैनिकी बंगुर स्याहारसुसारमै समय बित्ने गर्दछ ।

तनहुँका १० वटै स्थानीय तहका जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध छन् । चुनाव लड्नुअघि कृषि क्षेत्रमा रहेकाले जनप्रतिनिधि भइसकेपछि पनि उक्त कामलाई निरन्तरता दिएका हुन् । व्यास नगरपालिकामा रहेको अधिकांश जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध रहेको उपप्रमुख मीरा जोशीले बताइन् । उनले भनिन्, ‘जनप्रतिनिधिमा पुरुषभन्दा महिला बढी कृषि क्षेत्रमा आबद्ध छन् । अधिकांश वडा सदस्यहरु रहेका छन् ।’

उनले थपिन्, ‘वडा अध्यक्ष पनि छन् । आफ्नो जनप्रतिनिधिको काम सकेर उनीहरुले कृषि क्षेत्रमा व्यस्त हुन्छन् ।’ व्यासमा मात्र होइन, तनहुँका १० वटै स्थानीय तहका अधिकांश जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध छन् । स्थानीय तहको चुनावबाट जनप्रतिनिधिमा वडा सदस्यहरु धेरै रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width