पोखरा । फेवाताल र डुङ्गाबीच अटुट सम्बन्ध अचेल टुटेको छ । ५ महिना बितिसक्दा पनि फेवाको पानीमा पूर्णरुपमा डुङ्गा सिँचित हुन पाएको छैन । ताल किनारमै सिक्रीले बाँधिनुपरेको छ ।
ताल र डुङ्गाबीच सम्बन्ध टुटेझैं डुङ्गा र लक्ष्मी नेपालीको पनि सम्बन्धमा पनि दरार छ । डुङ्गा कहिले दायाँ ढल्कियो, कहिले बायाँ । जीवनको घुम्तीमा आएका २ जना श्रीमान् जीवनको बेलगाडा बीचमै छोडेर गए । उनले अर्को धोका खाइन् ।
यसरी सम्बन्धको नाता पर्गेल्न नसक्दा हुत्तिएर फेवातालमा डुङ्गा चलाउन आएकी लक्ष्मीलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले चुल्होसम्म प्रभाव पर्यो । ५ महिना बितिसकेको प्रभाव कति दिन अझै पर्छ थाहा छैन । १२० दिनसम्म लकडाउन भयो । अब सहज होला भनियो । तर भएन । कोरोना संक्रमित संख्या बढ्दै गए । लकडाउन हटेको महिना दिन नपुग्दै कास्कीमा निषेधाज्ञाको जालो फैलिएको छ ।
कोभिड–१९ संक्रमण जोखिम फैलिन नदिन सरकारले चैत ११ मा लागू गरेको लकडाउन आजभन्दा ठिक १ महिनाअघि साउन ७ मा हटाएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २ देखि जिल्लामा लगाएको निषेधाज्ञा आइतबार पुनः थपेर भदौ १२ सम्म पुर्याएको छ । डुङ्गा कहिले चलाउन पाइएला र रोजीरोटी सहज होला ? भन्ने प्रश्नको उत्तर खोज्दै बरोबर फेवा किनार बाराहीघाटमा भेटिने लक्ष्मी भारी मन लिएर फर्किन बाध्य छिन् ।
पर्यटकीय सहर पोखराको लेकसाइडमा जन्मीहुर्केकी उनी अहिले ३६ वर्षकी भइन् । साथमा उनका १९ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । उनीहरुलाई हुर्काउने र पढाउने जिम्मेवारी लक्ष्मीकै काँधमा छ ।
प्राथमिक तहको मात्र अध्ययन पूरा गरेकी लक्ष्मी पहिले बिहे गर्दा मात्र १५ वर्षकी थिइन् । काभ्रे घर भइ पोखरामा बस्ने महेश लामासँग उनले बिहे गरिन् । छोरा विवेकलाई जन्म दिइन् । तर पति महेशसँगको नातासम्बन्ध २ वर्ष पनि टिकेन । अन्तरजातीय बिहे गरी उनको जीवनमा बज्रपात भयो । श्रीमान्ले बिनाकारण छाडे । अलपत्र परेकी लक्ष्मी काठमाडौंमा एक होटलमा काम गर्न थालिन् ।
उनको सम्झनामा त्यस्तै २०६६ सालतिरको कुरा हो । त्यसबेला उनको चिनजान नुवाकोट त्रिशूलीका राजु लामासँग भयो । राजुसँग बिहे हुँदा छोरा विवेक ११ वर्षका भैसकेका थिए । पछि उनले छोरी मुस्कानको जन्म दिइन् । छोरीको जन्मको १८ महिनापछि फेरि उनी एक्लै भइन् । दोस्रो बिहे गरेका राजुले पनि उनलाई छाडेर अलपत्र पारे । काठमाडौंमै दुःखजेलो गरी दुई छोराछोरी हुर्काउँदै गइन् । केही वर्षपछि उनी काम खोज्दै माइतीघर पोखरा आइन् । तर माइतीमा पनि उनी हेलत्व भइन् । छुट्टै डेराकोठामा बस्न थालिन् । डेराकोठा बसेर काम खोज्न थालिन् । राम्रो र चित्तबुझ्दो काम हात परेन । तर फेवातालले काम दियो । किनकि सहजै पाइने काम थियो–डुङ्गाचालक । लक्ष्मी फेवातालमा डुङ्गा चलाएरै हातमुख जार्ने करिब एक सय जना डुङ्गा चालकमध्ये एक हुन् । बाराहीघाटका महिला डुङ्गाचालकमा सक्रिय ४ मध्ये पुरानोमा पर्छिन् ।
हालै रित्तो डुङ्गामा अडिएर दुःख पोख्दै लक्ष्मीले भनिन्, ‘बाँच्नै मुस्किल हुन थालिसक्यो । कोठाभाडा ६ महिनादेखि तिर्न सकिएको छैन । छोराछोरी बिच्चलीमा छन् । राहत मागेर कति दिन पुग्छ र ?’
उनले डुङ्गा चलाउन थालेको १० वर्ष बितिसकेछ । कहिल्यै नरोकिएको डुङ्गामा मान्छे तार्ने काम अहिले भने एक्कासी रोकिन गएको हो । अप्रत्याशित रुपमा आएको कोभिड–१९ को प्रभावले पर्यटकीय सहर पोखरामा लक्ष्मीजस्तै डुङ्गाचालकको दैनन्दिन क्रियाकलापमा ठूलो असर पारेको छ ।
उनले भनिन्, ‘घरबेटीले देख्छन् कि भनी सुटुक्क डेरा छिरेर निस्कनुपर्छ । काम अचेल पाइएको छैन । वडा कार्यालय र डुङ्गा व्यवसायी समितिले दिएको राहतले लकडाउनमा भरथेग भो । अब चाँडै डुङ्गा चलाउन पाए हुन्थ्यो ।’
लक्ष्मीको दुःखलाई नजिकबाट देखेकी सहकर्मी हुन्, रुपा विश्वकर्मा । रुपा अहिले फेवा डुङ्गा व्यवसायी समिति सहकोषाध्यक्ष पनि छन् । उनले पनि सुरुवातका दिनमा डुङ्गा चलाइन् । विगतको दिन सम्झिदै रुपाले भनिन्, ‘पुरुषको तुलनामा महिला डुङ्गाचालकको व्यथा फरक छ । यात्रुले हामीलाई नपत्याएर हत्तपत्त डुङ्गा चढ्न मान्दैनन् । यात्रु पाउनै मुस्किल थियो, पहिले । दिनभरि काम गर्दा हात फतक्कै गल्ने । ज्याला असाध्यै कम ।’
अहिले कोरोनाले भने आफूहरुको पेसा नै धरापमा परेको भन्दै उनले सरकारले यसमा ध्यान दिनुपर्ने रुपाको माग छ । उनका अनुसार फेवाताल किनारका ८ घाटमा महिला डुङ्गाचालकको संख्या अहिले मात्र १०/१५ जति छ ।
कोरोना भाइरसको कारण प्रभाव नपर्दाका बेलासम्म डुङ्गा चलाएर एक चालकले ५ देखि १ हजारसम्म कमाइ गर्थे । कहिलेकाहीँ धेरै ट्रिप (पालो) पर्यो भने ३ हजारसम्म पनि कमाइ हुँदो रहेछ । लक्ष्मीले पनि त्यस्तै हाराहारीमा कमाइ गर्थिन् । अहिले डुङ्गा नचल्दा कमाइ शून्य छ । लक्ष्मी र रुपाजस्तै डुङ्गाचालकले लकडाउनको बेलामा ज्याला मजदुरी गरे । बर्खामास तालमा जलकुम्भी झार देखिँदा केही दिन सो झार फाल्ने काम भयो । दिनगन्तीमा ज्याला बुझे । तर ताललाई कुरुप पार्ने जलकुम्भी फाले पनि लक्ष्मीको जीवनको झार फाल्न कठिन छ । उनी आफै भविष्यदेखि डराउँछिन् । के होला र कसो होला भन्ने अन्योल कायमै छ । सरकारले कोरोनाको संकटबीच विपन्न तथा यसखालको वर्गलाई विशेष प्याकेज दिन ढिला गर्नु हुँदैन । लकडाउन, सटडाउन, निषेधाज्ञा, सिलबाहेकका विकल्प खोजिनुपर्छ ।
फेवाताल किनारका विभिन्न ८ वटा घाटमा ८ सय वटा संचालित हुन्छन् । सबैभन्दा बढी बाराहीघाटमा ३ सय ३४ डुङ्गा छन् । बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुङ्गा चल्छन् । सबै डुङ्गाको लागि आलोपालो प्रणाली समितिले लागू गर्दछ । लामो समय डुङ्गा नचल्दा केही डुंगा बिग्रिएका छन् । काठ मक्किएको छ । फुर्सदिलो समयमा अचेल मर्मत सम्भार गरेको दृश्य पनि देख्न पाइन्छ ।
यसैबीच फेवा डुङ्गा व्यवसायी समिति उपाध्यक्ष मंगलबहादुर नेपालीले कोरोना प्रभावले डुङ्गाचालकलाई निकै समस्या भएको बताउँछन् । डुङ्गा व्यवसायीको तुलनामा मजदुरको समस्या बेग्लैखालको रहेकोले समितिसहित पोखरा ६ वडा कार्यालयमार्फत राहत प्रदान गरी सहयोग गरेको उनले बताए । तर राहतले मात्रै कतिञ्जेल चल्छ र ? डुङ्गाचालकको सहजताका लागि सरकारले २/३ प्रतिशत व्याजदरमा निश्चित समयावधिको लागि ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
डुङ्गा व्यवसाय प्रत्यक्ष पर्यटनसँग जोडिने भएकोले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१