कोरोनापछि फेरियो मनाङकै परिचय

रासस
भाद्र ८, २०७७
manang

फाइल फाेटाे

मनाङ । मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मिहेनत र परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानहरुले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसानहरु मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाएको बन्दा, काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् ।

अध्यक्ष गुरुङ भन्छन्, “मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ, तर सडक अवरुद्ध भएकाले गर्दा बजार प¥याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ ।” आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकारीको नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको जानकारी दिए ।

भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेंशिसहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि कोरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लाग्नुभएको छ । अहिले उनको बारीमा फलेका तरकारी जिल्लाकै नमूना बनेका छन् । काउली, बन्द, गाजार, प्याज उतिकै राम्रा फल लागेका छन् । झन्डै १० किलोका काउली र बन्दा रहर लाग्दा देखिन्छन् ।

हुन त यहाँका सबै मानिसहरु होटल व्यवसायसँगै खेतीपातीमा पनि संलग्न रहेका छन् । आफू खानलाई आफ्नै उत्पादनबाट नै पुर्‍याउने गरेको व्यवसायी गुरुङले बताए । माछा, मासु र चामल बाहिरबाट ल्याउने गरेपनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ । पहिले बेंशिसहर, डुम्रेबाट हप्तौं लगाई बोकाएर लगेको तरकारी खान बाध्य यहाँका वासिन्दा अहिले आफ्नै बारीको ताजा र अर्गानिक तरकारी खान पाउँदा खुशी छन् ।

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्द, गाजरलगायतका तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष समेत रहेका उनी जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width