पाेखरा । पोखरा महानगरपालिकाको मुख्य आम्दानीको स्रोतमध्ये पर्छ–नदीजन्य उत्खनन् र व्यापार । महानगरले १२ वटा प्याकेजमा २० वटा हाराहारीको घाट ठेक्कामा लगायो । ती घाटहरुबाट १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो । सोही अनुसार सम्झौता पनि भयो । महानगरबाट सम्झौता भएकामध्ये ५ वटा घाटले आधा रकम नगदै बुझाए भने आधा रकम बैंक ग्यारेन्टी राखियो । समयमा ठेकेदारहरुले तिर्नुपर्ने रकम नबुझाएपछि महानगरले पटक–पटक ताकेता गर्यो । ठेकेदारले पैसा बुझाएनन् । त्यसपछि उनीहरुले बैंकमा राखेको ग्यारेन्टी जफत गर्न महानगरले बैंकहरुलाई चिठी काट्यो । त्यही चिठी लिएर ठेकेदारहरु सर्वोच्चमा पुगे । लकडाउन अवधिमा सामग्री उत्खनन् गर्न नपाएको भन्दै उनीहरुले बैंक ग्यारेन्टी जफत गर्नबाट रोक्नुपर्ने माग सहित संयुक्त मुद्दा दायर गरे।
अदालतले अर्को आदेश नहुँदासम्म बैंक ग्यारेन्टी जफत नगर्न अन्तरिम आदेश दियो । यो आदेशसँगै महानगरको ९ करोड रुपैयाँ उच्च जोखिममा परेको छ ।
अदालतले महानगरलाई घाट ठेक्का र बैंक ग्यारेन्टी जफतबारे प्रश्न गर्दै १५ दिनको म्याद दिएर जवाफ पठाउन भनेपछि महानगरले जवाफ पठाइसकेको छ । ‘कानूनमा लकडाउन भनेर छुट दिन मिल्दैन । उनीहरुले सामग्री उठाइसके । सम्झौताको म्याद सकियो । त्यसपछि आफूले पाउनुपर्ने रकमको दाबी महानगरले गरेको हो,’ वरिष्ठ कानून अधिकृत नारायण शर्माले भने,
‘पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले रकम बुझाएनन् । त्यसपछि बैंकमा भएको ग्यारेन्टी तान्न चिठी लेख्यौं । सर्वोच्चले अहिले ग्यारेन्टी नतान्न आदेश जारी गरेपछि समस्या भयो ।’
उनका अनुसार असारमै १ हप्ताको म्याद दिएर बैंकलाई पत्र पठाइएको थियो । बैंकले ठेकेदारलाई खबरपछि ठेकेदारहरु महानगरमा पैसा बुझाउनुको सट्टा सर्वोच्च गुहार्न पुगेका हुन् । ठेक्का प्रक्रियामा ठेकेदारको बैंक ग्यारेन्टी जफत गर्नु नराम्रो मानिन्छ । ‘बैंक ग्यारेन्टी तानियो भने ठेकेदार नराम्रो सूचीमा पर्ने रहेछ । ब्ल्याक लिष्टेड हाराहारीकै हुने रहेछ,’ स्रोतले भन्यो, ‘त्यसैले उनीहरु सकेसम्म त्यो जोगाउन लागिरहेका छन् । स्रोत उपभोग गरेपछि राज्यलाई तिर्नुपर्ने रकम त तिर्नै पर्छ ।’ रामघाट, पशुपति घुमाउने घाट, द्वार कस्यार घाट, गढी घाट र ढाव दसखेत, तुल्सीतरा, पुरुञ्चौर घाट प्याकेजका ठेकेदारहरुले सर्वोच्चमा उजुरी गरेका हुन् । ती घाटहरु १३ करोड ९ लाखमा ठेक्का दिइएको हो ।
रामघाटमा ठेकेदारले अन्तिम समयसम्म पनि बैंक ग्यारेन्टी बुझाएका थिएनन् । कर्मचारीको कमजोरीकै कारण ३ करोड ५ लाख गुम्ने अवस्थामा पुगिसकेको थियो । तर अन्तिममा समाचार सार्वजनिक भएपछि बैंक ग्यारेन्टी राखिएको थियो । महानगरकै लेखाप्रमुख जयराम पौडेलले राजस्व शाखा प्रमुख छवि शर्माले नियतवश राजस्व गुम्ने खतरा सिर्जना गरेको भन्दै कारबाहीको माग सहित मेयरलाई पत्र पठाएका थिए । अहिले त्यसको बैंक ग्यारेण्टी त छ, तर राजस्व गुम्ने खतरा भने टरेको छैन ।
उल्टै मुद्दा हाल्दै महानगर
राजस्व गुम्ने खतरा बढेपछि पोखरा महानगरपालिकाले उल्टै सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारी थालेको छ । ठेकेदारहरुले दायर गरेको मुद्दाउपर सर्वोच्चले गरेको अन्तरिम आदेश नै खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा उल्टै मुद्दा दर्ता गर्न लागिएको महानगरले जनाएको छ । ‘करोडौं रुपैयाँ गुम्ने अवस्था आयो । त्यसलाई महानगरको खातामा ल्याउनैपर्छ,’ एक उच्च कर्मचारीले भने, ‘त्यसका लागि महानगरले नै मुद्दा दर्ता गर्दै छ ।’ लकडाउन भएपनि व्यवसायीहरुले सामग्री उत्खनन् नरोकेका कारण मिनाहा गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ५ वटै घाटका विरुद्ध मुद्दा दिन लागिएको हो ।
कर्मचारीलाई कारबाही गर्नुपर्ने छानबिन समितिको निष्कर्ष
रामघाट विवाद छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाउँदै राजस्व उच्च जोखिममा पार्ने राजस्व शाखाका तत्कालीन प्रमुख छवि शर्मालाई कारबाही गर्न सुझाएको छ । ‘बैंक ग्यारेन्टीबिना ठेक्का सम्झौता गर्नु नै गैरकानूनी हो । सम्झौतापछि पनि ग्यारेन्टी वा नगद नआएपछि पत्र पठाउनुपर्ने थियो । त्यो पनि राजस्व शाखाले गरेको देखिएन,’ समिति संयोजक तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘कर्मचारीको गल्तीका कारण पनि राजस्वको जोखिम बढ्यो । गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’ समितिले चेक बाउन्स भएको घटनामा पनि कर्मचारीकै दोष देखाएको छ ।
राजस्व प्रमुखलाई कारबाही
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तानिएको छ । उनलाई प्रशासकीय अधिकृतको कार्यकक्षमा अतिरिक्त समूहमा तानिएको हो । सामान्य प्रशासन मन्त्रालयमा कुनै कर्मचारीलाई कामविहीन बनाएर राख्नुपरे अतिरिक्त समूहमा राख्ने चलन छ । पटक–पटक विवादमा आएपछि शर्मालाई पनि कामको जिम्मेवारीबाट टाढा राखिएको स्रोतले बतायो । उनी अहिले कामविहीन भएका छन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१