आंशिक खुले पोखराका होटल

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
waiter

पोखरा । शरीरमा प्लाष्टिकको एप्रोन । मुखमा मास्क । टाउकोमा हेड क्याप । हातमा पञ्जा । लेकसाइडको माउण्ट कैलाश रिसोर्टका वेयर विकास ढकालले कोरोनाबाट बच्न यसरी सुविधा विधि अपनाएका छन् । त्यस्तै रिसोर्ट छिर्ने ग्राहकको पहिले ज्वरो नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, नामठेगाना तथा सम्पर्क नम्बर टिपाउने व्यवस्था गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमबाट बच्दै सेवा दिन रिसोर्टले सरकारको निर्देशन दिएबमोजिम सो मापदण्ड अपनाएको हो । चार महिनाको लकडाउनपछि साउन १५ देखि सरकारले पर्यटन क्षेत्रअन्तर्गत होटल तथा रेष्टुँराबाट पनि सेवा दिन सकिने अनुमति दिएपछि माउण्ट कैलाशमा झैं बिहीबार खोलिएका अन्य होटल तथा रेष्टुँराले पनि यस्तै प्रकारको सुरक्षा विधि अपनाउन थालेका छन् । तर पर्यटकीय सिजन नभएको, लामो दूरीको सवारीसाधन संचालनमा नआएको तथा हवाइ यातायात पनि ठप्प रहेको अवस्थामा कोरोना प्रभावअघिकै अवस्थामा जस्तो यो व्यवसाय संचालन आएको छैन । बिहीबार आंशिक रुपमा मात्र पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका होटल तथा रेष्टुँरा खोलेको पाइयो । प्रायः ठूला होटलहरु भने लकडाउन हटे पनि संक्रमण डर उत्तिकै रहेकोले अहिले नै पूर्णरुपमा सेवा दिन नसक्नै भन्दै खोलिएका छैनन् । उनीहरुले आगामी सेप्टेम्बरसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहेर आन्तरिक तयारीमा जुटेको बताउँछन् ।

कोरोनाबाट बच्न आवश्यक सुरक्षासहित होटल माउन्ट कैलासका एक वेटर ।

पश्चिमाञ्चल होटल संघले पहिलो दिन यहाँका करिब १० प्रतिशत होटलमात्र संचालनमा आएको जनाएको छ । संघ अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरु खुला गर्ने अनुमति आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताए । केही साना होटलहरु खुलेको र अन्य होटल विस्तारै तयारीमा जुटेको उनले बताए ।

लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापन लगायत कामलाई मात्र व्यवसायीले अघि बढाएको उनको भनाइ छ । पाहुना अभावमा अहिले नै पूर्णरुपमा चलाउँदा खर्चिलो हुने भएकोले व्यवसायीले सिजन कुरेको उनले बताए । तुलाचनले भने, ‘सरकारले भनेबमोजिम साउन १५ देखि एकखालको सेवा संचालन भएको सन्देश त गयो तर अहिलेको समयमा संक्रमण जोखिम रहेकोले सिजनका लागि पूर्व तयारी भनेर बुझ्नुपर्छ । असोज लागेपछि मात्रै पर्यटकीय पहलपहल बढ्न सक्छ ।’ त्यस बेलासम्म होटेल सञ्चालकले कर्मचारीका लागि होटल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उनको बताए । साथै सरकारको पुनर्कर्जा सुविधाको पनि कार्यान्वयन पक्ष हेर्नुपर्ने उनको तर्क छ।

होटल ल्याण्डमार्कका संचालक राजु पाण्डेले भने बिहीबारदेखि आफूहरुले आंशिकरुपमा कर्मचारी राखेर संचालनमा ल्याएको जानकारी दिए । यहाँको हङ्ग्री आई रेष्टुरेन्टको लागि आवश्यक कुक, वेटरसहित होटलमा क्लीनर, हाउसकिपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । पहिले कुल १ सय ४ जना कर्मचारीले काम गर्थे । संचालक पाण्डेले सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर प्रयोग वा हात धुने व्यवस्था मिलाइएको बताए । ‘होटलका ३ बिल्डिङमध्ये एउटामात्र खोलिएको छ,’ उनले भने ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अहिलेकै अवस्थामा होटल रेष्टुराँ खोलेर संक्रमण निम्त्याउन नहुने बताउँछन् । भारतमा संक्रमण दर बढेको हुँदा पोखरामा होटल खोलेको थाहा पाएपछि उनीहरुको आगमन दर बढ्ने भएकोले सम्भावित जोखिम न्यूनीकरणका लागि अझै व्यवसाय संचालन गर्नु उपयुक्त नहुने उनको तर्क छ ।

होटल बाराहीका संचालक विप्लव पौडेलले पर्यटकीय सिजन सुरु नभइञ्जेल बाराही होटल नखुल्ने बताए । उनले आफूहरु होटलमा रुम स्तरोन्नतिमा लागेको जानकारी दिँदै सेप्टेम्बरतिरमात्र खोल्न सकिने बताउँछन् । उनी संचालक रहेको सराङ्कोट माउण्टेन लज भने बिहीबारदेखि आंशिकरुपमा खुलेको छ ।

त्यस्तै, स्वीस इन्टरनेशनल होटल संचालक भरत पहारीले आफूहरुले क्वारेन्टाइनको लागि पनि पहिलेदेखि नै एकतिहाइ कर्मचारी राखेर संचालनमा ल्याएको जानकारी दिए । संक्रमण दर हट्दै गएपछि विस्तारै सेवा प्रवाह बढाउने उनले बताए ।

होटल माउण्ट कैलाशका संचालक नरेश भट्टराईले अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने बताए । उनले आफूहरुले आवश्यक मापदण्ड अपनाएर होटल तथा रेष्टुराँ संचालनमा ल्याएको बताए ।

लेकसाइडकै पञ्जावी रेष्टुरेन्टका संचालक विनयकुमार भगतले बिहीबारदेखि आंशिक कर्मचारी राखेर सेवा सुरु गरिएको बताए । उनले आवश्यक तयारी, सरसफाइ लगायत काम पनि सुरु भएको बताए ।

पोखरामा करिब ७ सय वटा पर्यटकीय होटल छन् । तीमध्ये पश्चिमाञ्चल होटल संघमा आवद्ध ४ सय वटा छन् । केही होटल अझै पनि क्वारेन्टाइनकै रुपमा प्रयोग भएका तथा पर्यटकीय सिजनसमेत नभएकोले पोखराका होटल पूर्णरुपमा खोल्न केही समय लाग्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width