मन्दिर जान नपाउँदा गेटमै धूपबत्ती

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७७
anju grg (first from right) (1)

पोखरा । गएरातिदेखि अविरल वर्षेको पानी अझै रोकिएको थिएन । तैपनि साउन सोमबार भएकोले अञ्जु गुरुङ भगवान् शिवको पूजाआराधनाका लागि मन्दिर जाने निधो गरिन् । सखारै उठेकी उनी आफ्ना २ साथीलाई पनि फोन गरिन् । साथीहरु उनीको प्रस्तावमा सहमत हुँदै फेवाताल किनारको केदारेश्वर मन्दिर जान राजी भए । रेनकोट लगाएका उनीहरु स्कुटर चढेर अञ्जुको घरै पोखरा मियाँपाटन आए । त्यतिबेलासम्म ६ बजिसकेको थियो ।

अञ्जुले पनि आफ्नो स्कुटर चढिन् । पोखरा १, गाईघाटस्थित सेदीनदी किनारबाट पवित्र जल उठाएर २ स्कुटरमा हुँइकिँदै २०÷२२ वर्षका ३ युवतीहरु साढे ७ बजेतिर केदारेश्वर मन्दिर पुगे । तर मन्दिरको मूलगेटमै ताला लगाइएको थियो । सुरक्षामा तैनाथ प्रहरीसमक्ष मन्दिर प्रवेशको लागि अनुनय गरे । तर कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेश दिइएन । उनीहरु निराश बने । मन्दिरको बाहिरी गेट छेउमै धूपबत्ती बाले । र, भगवान् शिवको नाममा जल चढाएर फर्किए ।

अञ्जु र उनका साथीहरुमात्रै हैन, यहाँ सोमबार बिहानभर झण्डै १ हजार जति श्रद्धालु भक्तजन निराश हुँदै फर्किएका छन् । वर्षाका कारण रुझ्दै भिज्दै जसोजसो मन्दिर गेट पुगेका उनीहरु यसरी फर्किन बाध्य भएका हुन् ।

पछिल्लो समय पोखराको केदारेश्वर मन्दिर बोलबमधाम रुपमा चर्चित छ । झण्डै २ दशकदेखि यहाँ बोलबम मेला लाग्छ । मन्दिरमा हजारौं मानिसहरु साउनको हरेक सोमबार भगवान् शिवको पूजाआजा गरी शिवलिङ्गमा जल चढाउन हुल बाँधेर आउँछन् । यसपालि भने कोरोनाले सो हुल छेकिन गएको हो । तैपनि मानिसहरु लकडाउन हटिसकेको अवस्थामा मन्दिर प्रवेश पाइन्छ कि भनी आउन छोड्दैनन् ।

यसबारेमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिले पनि आधिकारिक सूचना जारी गरिसकेको छैन । सरकारले भने कोरोना जोखिम भन्दै मठमन्दिरहरुमा गत चैत ११ देखि लगाएको भीडभाड तथा पूजाआजामा लकडाउन अझै खुला गरेको छैन ।

मन्दिरमा अघिल्लो साता साउन पहिलो सोमबार भने केही संख्यामा भक्तजन मन्दिर प्रवेश गरी फर्केका थिए । केही घण्टाको लागि खुला गरिएको पूजाआजा यो साता भने प्रशासन आफैले मन्दिर व्यवस्थापन समिति नाममा सूचना टाँस गरी प्रवेशमा रोक लगाएको हो । भक्तजनले मन्दिर जान अटेर गरेपछि प्रहरीले केहीलाई त लाठीचार्ज गरेर धपाएको थियो ।

यस सम्बन्धमा मन्दिर व्यवस्थापन समिति सचिव खिमबहादुर पहारीले सामाजिक दूरी कायम गरी पूजाआजामा छुट गर्नुपर्ने जिकिर गर्दछन् । मन्दिरकै लागि भनी टाढाटाढाबाट भक्तजन आउने हुँदा यहाँ आएर गेटबाट फर्काउन नहुने उनको तर्क छ । आफूहरुलाई बिना जानकारी प्रशासन आफैले आएर मन्दिरको नाममा सूचना टाँस गरेको उनले बताए ।

मन्दिरमै भेटिएका विश्व हिन्दू महासंघ कास्कीका पूर्व सल्लाहकार विष्णुबहादुर राजभाटले धार्मिक आस्थाको केन्द्र केदारेश्वरको गेटबाट प्रशासनले भक्तजन फर्काउन नहुने बताए । ‘रोक लगाउनु नै अर्थपूर्ण हैन । प्रहरी प्रशासन र स्वयंसेवक सहयोगमा आवश्यक दूरी कायम गरी पूजाआजा खुला गरिनुपर्छ,’ उनले भने ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ विगत वर्षमा सेती किनार गाईघाटबाट भक्तजन बाजागाजाका जल चढाउन मन्दिर पुग्ने गर्दथे । सेतीकिनार गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा ८ संयोगका कारण केदारेश्वर चर्चित बन्दै गएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width