राखेप सदस्यसचिवमा सिलवाल नियुक्त

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७७

रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा पुनः नियुक्त भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । पदमुक्तको ३ सातापछि उनलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ वर्षका लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्यसचिव नियुक्त भएका छन् ।  यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाको नाममा सिलवाल थिए । समितिले राष्ट्रिय महिला भलिबल टोली पूर्व कप्तान अञ्जु श्रेष्ठ, नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापासहित सिलवालको नाम सिफारिस गरेको थियो । सदस्यसचिव बन्न २७ जनाले आवेदन दिएकोमा उनीहरुको नाम सिफारिसमा परेको थियो ।

नेपाल भलिबल संघको सिफारिसमा यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त उनी यसपालि भने प्रतिष्पर्धामा परेका थिए । विगतमा सदस्यसचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ ।

यस्तै, शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । उनको पदावधि समेत ४ वर्षको हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका कोइरालालाई मन्त्रीपरिषद्को बैठकले राखेप उपाध्यक्षमा नियुक्ति गरेको हो । कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियाशील छन् । उनी पूर्व नेकपा माओवादीका नेता हुन् ।

गत वर्ष असार २३ गते पहिलो पटक सदस्य सचिव नियुक्त सिलवालसहित राखेपका तत्कालीन पदाधिकारी एवं सदस्य नयाँ राष्ट्रिय खेलकुद ऐन २०७७ असार १८ गते लागु भएसँगै पद मुक्त भएका थिए ।