कोरोनाबाट नेपालमा पहिलोपटक विदेशीको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
covid 19 corona banner

पोखरा, ८ साउन । नेपालमा कोभिड–१९ बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४८ वर्षीया चिनियाँ महिलाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

कोभिड–१९ बाट ज्यान गुमाउने ती चिनियाँ नागरिक भने पोखरामा बस्दै आएकी थिइन् । उनले पर्यटकीय सहर पोखरा लेकसाइडमा केही वर्षदेखि रेष्टुरेन्ट चलाउँदै आएको खुलेको छ । साथै उनी १ वर्षदेखि चीन फर्केकी थिइनन् ।

कुनै पनि ट्राभल हिस्ट्री नभएकी ती नागरिकमा कसरी कोरोना भेटियो भन्नेबारे पोखरास्थित स्वास्थ्य निर्देशनालयका अधिकारी पनि अचम्मित छन् । स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं रेफर गरिएकी ती नागरिकमा कोरोना पुष्टि भएको आफूले जानकारी पाएको र कसरी कोरोना संक्रमण भेटियो भन्नेबारे कन्ट्याक्ट टे«सिङ थाल्ने जनाए ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सुरुवातमा पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उनलाई साउन २ गते थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।

काठमाडौं पुर्‍याएपछि पीसीआर परीक्षण क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जस्थित सघन उपचार कक्षमा लगिएकोमा बुधबार मृत्यु भएको हो ।

योसँगै बुधबारमा नेपालमा थप एक जनाको कोरोनाकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width