आज हरिशयनी एकादशी, तुलसी राेप्ने दिन

रासस
असार १७, २०७७
Tulasiko-Motha

काठमाडौँ, १७ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजा आराधना आज (बुधबार) देखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा यसदिन मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । यस दिनदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । यस वर्ष असोज महिनामा अधिकमास पर्ने भएकाले चतुर्मासा भनिए पनि ५ महिना हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष चतुर्मासाको अवधिमा १० एकादशी पर्छन् । अधिकमासका कारण पद्मनी र परमा नामका दुई एकादशी बढी भएका हुन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले २५ जनाभन्दा बढीको भीडभाड नगर्न सरकारले सार्वजनिकरुपमा आह्वान गरेको छ ।

यसअघि जारी गरिएको बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात नचलेकाले टाढाटाढाका मानिस मन्दिर जान सक्ने अवस्था छैन । धेरैजसो मन्दिर पनि आममानिसलाई दर्शन एवं पूजाआजाका लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width