नेपाली भाषा शिक्षकहरुको अनलाइन रचना वाचन

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
stftnepali photo

पोखरा, ७ असार । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिले शनिबार अनलाइन रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

देशभरका नेपाली भाषा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमका प्रमख अतिथि प्राज्ञ डा. देवी नेपालले कविता वाचन गरी उद्घाटन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. नेपालले नेपाली भाषा साहित्यलाई प्रविधिसँग जोडेर कक्षाकोठामा पुर्याउदा थप प्रभावकारी हुने धारणा राखे ।

शिक्षणमा सबैभन्दा अब्बल जनशक्ति आउनुपर्नेमा जोड दिँदै उनले अझ नेपाली भाषा विषयका शिक्षकहरु थप अब्बल हुनुपर्ने धारणा राखे । सिर्जनात्मक र समालोचनात्मक चेतसहितका शिक्षकले मात्र असल शिक्षा दिन सक्ने उनको भनाइ थियो । सबै खालका कवितामा लय हुने बताउँदै कविता पढाउँदा त्यसले बोकेको लयलाई सर्वप्रथम शिक्षकले न्याय गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले समाजले शिक्षाका सबै क्षेत्र र विधालाई प्रविधिसँग जोड्ने अभियान अघि बढाएको बताए । नेपाली विषय समितिले गरेको सिर्जनात्मक कामबाट आफू खुसी भएको बताउँदै उनले साहित्यका माध्यमबाट जुनसुकै विषय सहज ढङ्गबाट अध्यापन गर्न सकिने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका समाजका केन्द्रीय सदस्य तथा नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहराले समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए । १ महिने तालिमपछि नेपाली भाषा विषयको शैक्षिक सामग्री निर्माणको चरणमा आफूहरु रहेको जनाउँदै उनले नेपाली भाषा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि निरन्तर लाग्ने जानकारी दिए ।

उपाध्यक्ष हिमा थापाको स्वागतमा भएको कार्यक्रममा नमराज जैशी, भक्तिप्रसाद उपाध्याय, ध्रुव गिरी, चक्रप्रसाद अधिकारी, तारादेवी आचार्य, होमानाथ भट्टराई, प्रभा लम्साल रेग्मी, गौरी सुवेदी, ईश्वर जोशी, हरिहर दाहाला, शान्ता पन्थी, शोभा कडरिया, राम यादव, भूपिसिँह धामी, शिव सस्मितलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, महानन्द ढकाल, सीतादेवी पौडेल, प्रभात सुवेदी पनि कार्यक्रममा आफ्ना रचना सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रविधिमैत्री शिक्षक समाज, कास्कीका सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै