स्याङ्जाका ३ संक्रमित कोरोना जितेर घर फर्के

तोलाकान्त बगाले
जेठ २८, २०७७
syangja

स्याङ्जा, २८ जेठ । स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोनालाई जितेर बुधबार घर फर्किएका छन् । जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा बसेका ६ जना मध्ये ३ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको जिल्ला अस्पताल स्याङ्जाका फोकलपर्सन डा. अञ्जु अर्यालले बताइन् ।

वालिङ नगरपालिकाका २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय २ पुरुष गरी ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो भने अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको फोकलपर्सन डा. अर्यालले बताए ।

स्याङ्जा जिल्लाभित्र पहिलो पटक कोरोना पुष्टि भएकाहरुमध्ये कोरोनालाई जितेर घर फर्कने ३ जना पहिलो संक्रमितहरु हुन् ।

गण्डकीमा हालसम्म १० जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्केका छन्

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितले कोरोनालाई जितेर घर फर्केकाहरुलाई बुधबार बिदाइ गरेका हुन् । उच्च मनोबल, धैर्यता र आत्मबलका कारण कोरोनालाई जित्न सफल भएको संक्रमितहरुले बताएका छन् । वालिङ नगरपालिकाका पुरुष जेठ १३ मा र गल्याङका पुरुषहरुमा जेठ १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वालिङ नगरपालिकाका ४ जना र गल्याङ नगरपालिकाका २ जना संक्रमितलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा राखेर उपचार भईरहेकोमा जेठ २२ गते दोस्रो पटक स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा बुधबार ३ जनामा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको फोकलपर्सन डा. अर्यालले बताइन् ।

हाल जिल्ला अस्पताल स्याङ्जामा ३ जना र कालिका सामुदायिक अस्पताल हेलुमा रहेको आइसोलेसनमा ३१ जना गरी कूल ३४ जना संक्रमित उपचाररत छन् ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका ३ का एक बृद्धको कोरोनाकै कारण पोखरामा उपचारक्रममा मृत्यु भइसकेको छ । हालसम्म स्याङ्जामा संक्रमितको संख्या ३८ पुगेको छ ।
स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसनमा वालिङ नगरपालिकाका अरु ३ जना अझै उपचाररत छन् ।

उता, भीरकोट हेलुस्थित कालिका सामुदायिक अस्पतालमा वालिङका २२ जना, चापाकोटका ४ जना, हरिनास गाउँपालिकाका २ जना, कालीगण्डकी गाउँपालिका, भीरकोट नगरपालिका, विरुवा गाउँपालिकाका १/१ गरी ३१ जना उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।

बागलुङका बुधबार नै ४ जना डिस्चार्ज भएका छन् । योसँगै गण्डकीमा हालसम्म १० जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्केका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width