कोइरालालाई गण्डकी नारी सम्मान २०७७

रासस
जेठ २७, २०७७
haridevi-

पोखरा, २७ जेठ । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ ।

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिइन । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।” उनले क्लबको सातौँ सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक महिलालाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिए । भट्टराईले सम्मानपत्र पढेर सुनाएका थिए ।

सम्मान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थिति अनुकूल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताए । शब्दद्वारा सम्मान व्यक्त गर्दै उनले लोकगायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए । सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखिन् । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनको भनाइ थियो । क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width