कास्कीमा पुगे ४ संक्रमित, कसरी आयाे साढे ४ महिनापछि कास्कीमा काेराेना

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
pokhara

पोखरा, २४ जेठ । कास्की जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ पुगेको छ। शुक्रबार काठमाडौंमा उपचाररत पोखरा–८ का ६० वर्षका पुरुषसहित शनिबार पोखरा–२७ का वर्ष ५९ पुरुष, रुपा गाउँपालिकाका वर्ष २३ र ३३ का पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।

शनिबार भेटिएकामध्ये वर्ष ५९ का पुरुष पोखरा–८ सिर्जनाचोकको क्वारेन्टाइनमा बस्दै आएको खुलेको छ । केही दिनदेखि क्वारेन्टाइन बस्दै गरेका उनलाई त्यहाँ स्वाब संकलनपछि पीसीआर गर्दा पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, रुपामा भेटिएका नयाँ २ संक्रमित ३ दिनअघि भारत हैदरावादबाट आएको खुलेको छ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले स्थानीय हंशपुरका ती व्यक्तिहरु हैदरावबाट ४ जनाको टोलीसहित आएर हंशपुर रामकोटस्थित क्वारेन्टाइनमा बस्दैआएको बताए । रामकोटको क्वारेन्टाइनमा हाल २२ जना छन् । उनीहरु यहाँ आएपछि स्वाब संकलन गरिएकोमा शनिबारमात्र रिपोर्ट पोजेटिभ सार्वजनिक भएको हो।

यसअघि शुक्रबारमात्र पोखरा–८ का वर्ष ६० का पुरुषमा काठमाडौंमा पोजेटिभ पुष्टि भएको हो । घरकोठामा बेहोस भेटिएपछि उनलाई सुरुवातमा गण्डकी मेडिकल कलेज (जीएमसी) हुँदै मंगलबार हेलिकोप्टरमार्फत तत्काल उपचारार्थ ह्याम्स अस्पताल लगिएको थियो । उपचाररत रहेकै अवस्थामा ह्याम्समा स्वाब संकलन गरी पीसीआर गरिँदा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको थियो।

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । शनिबार भेटिएका कास्कीका नयाँ संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारार्थ लगिएको निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

शनिबार स्याङ्जाका १०, बागलुङका १, नवलपुरका ३ सहित गण्डकीमा कुल संक्रमित ७५ पुगेकाे छ। चीनको वुहानबाट विश्वभर फैलिएको कोभिड–१९ नेपालमा ९ माघमा सर्वप्रथम देखा पर्यो । चीनबाट आएका एक विद्यार्थीमा पहिलो संक्रमण देखा परेको हो । तर सो केसपछि तालनगरी पोखरामा साढे ४ महिनापछि कोरोना देखियो।

गण्डकी प्रदेशअन्तर्गत बागलुङमा नेपालकै पाँचौ र छैटौं संक्रमित देखिँदासम्म पोखरेली कसैलाई हालसम्म कोरोना पुष्टि भएको थिएन । नेपालका ६५ जिल्लामा संक्रमण फैलिँदा कास्की चोखै थियो । छिमेकी जिल्लाहरु स्याङ्जा, नवलपुर, पर्वत, तनहुँ, म्याग्दी, लमजुङमा एकपछि अर्को कोरोना संक्रमित देखा परेका थिए। नेपालकै प्रमुख पर्यटकीय क्षेत्रसँगै घनाबस्ती रहेको पोखरामा कोरोना नदेखिनुलाई सुखद संयोग मानिँदैआएको थियो । शुक्रबार पोखरेली एक पुरुषसहित भोलिपल्टै शनिबार थप ३ जना कास्कीकै संक्रमित पुष्टि भएपछि भने यहाँ उच्च सतर्कता अपनाउन थालिएको छ।

कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिनुका साथै लकडाउन मोडालिटी कस्तो बनाइने भन्नेबारेमा पनि जिल्ला प्रशासन कार्यालय कास्कीले तयारी थालेको जनाएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेडेट अस्पतालको रुपमा १८ चैतदेखि नै पीसीआर टेष्ट अघि बढाइएको हो । यद्यपि परीक्षण दर तीव्र पार्न प्रदेश सरकारले थप एक मेसिन खरिद गरी ३ पीसीआर मेसिनमार्फत कम्तिमा २८ हजार जनाको परीक्षण गरिने प्रदेश सरकारको लक्ष्य छ।

Related News

सम्बन्धित समाचार

hero news full width