तरकारी खाल्डोमा गाड्नेलाई कारबाही गर्न निर्देशन

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
vegetable

तनहुँको शुक्लागण्डकी नगरपालिकाले दुलेगौडामा खाल्डो खनेर तरकारी नष्ट गर्दै । (फाइल फोटो)

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयलसंग छलफल गरेको थियो ।

बैठकपछि तीन वटै मन्त्रालयलाई विभिन्न निर्देशन दिँदै समितिले फलफूल तथा तरकारी नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘कोभिड १९ को बेलामा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र यस्ता वस्तुको ढुवानी तथा बिक्री वितरणमा सहजीकरण गर्नू,’ समितिले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले प्रमुख खाद्यबाली उत्पादनमा जोड दिन, जमिनको चक्लाबन्दी गरेर खेती गर्ने प्रणाली अपनाउन, कृषकलाई आवश्यक पर्ने कृषि सामग्री समयमै उपलब्ध गराउन तथा कुखुराको गुणस्तरीय दाना तथा औषधि किसानलाई उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सर्वसाधारण जनताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरीय खाद्यान्न आपूर्ति व्यवस्था मिलाउन तथा खाद्यान्न सचिति बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको थियो ।

पोखरा ३३ र १५ मा आयातित तरकारीले कोरोना सार्ने सन्त्रास फैलाउँदै डोजरले खाल्डो खनेर ६ गाडी तरकारी गाडिएको थियो

पोखरामा पनि केही दिन अघि पोखरा ३३ र १५ मा आयातित तरकारीले कोरोना सार्ने सन्त्रास फैलाउँदै डोजरले खाल्डो खनेर ६ गाडी तरकारी गाडिएको थियो । त्यसअघि गत जेठ ६ मा तनहुँको शुक्लागण्डकीमा पनि तरकारी खाल्डो खनेर नष्ट गरिएको थियो । जसको चौतर्फी विरोध भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width