क्वारेन्टाइनमा बसेका युवालाई नदीले बगाउँदा बेपत्ता

Avatar आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७

म्याग्दी ,२० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित छ्यारछ्यारेमा जनप्रिय माविको भवनमा रहेको क्वारेन्टाइनमा बस्दै आएका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापालाई खोलाले बगाएर  बेपत्ता पारेकाे छ ।

सुरक्षार्थ खटिएको प्रहरीलाई छलेर क्वारेन्टाइन नजिकै रहेको म्याग्दी नदीमा एक्लै पौडीखेल्न गएका थापालाई नदीले बगाएको इलाका प्रहरी कार्यालय दरबाङ्गका निमित्त इन्चार्ज एवम् सई बलराम पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर सहित सई पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासीको टोलीले बेपत्ता युवाको खोजतलास गरिरहेको छ ।

भारतबाट आएका युवामध्ये मालिकाका १७ र उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बेनीको क्वारेनटाइनबाट तीन दिनअघि मात्र मालिका गाउँपालिका–६ दरबाङ्ग, छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा रहेको क्वारेनटाइनमा सारिएको थियो ।