प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन: कुल जनसंख्याको २ प्रतिशतमा कोरोना परीक्षण गरिने

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै नेपाल सरकारले लागू गरेको लकडाउनको ठिक २ महिना बितेको अवस्थामा ओलीबाट पुनः राष्ट्रको नाममा सम्बोधन आएको हो ।

करिब २३ मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको भन्दै उद्धार गर्ने घोषणा गरेका छन् । छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको भन्दै उनले विदेशबाट फर्किनेहरुको अनिवार्य कोरोना परीक्षण हुने पक्षमा सरकार रहेको बताए ।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु।’
भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए।

‘भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान गरेको छ,’ उनले भने ।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उनले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने विश्वास दिलाए ।

  • प्रमको सम्बोधनमा निरोगी नेपाल निर्माणको लागि ५ कार्य
    -पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
    -दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
    -तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
    -चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
    -पाँचौं, उच्च मनोबल कायम राखौं ।

यस्तै, उनले विज्ञहरुको राय र सुझाव आधारमा कोरोना परीक्षण दर तीव्र बनाउँदै लगिने र देशको कुल जनसंख्याको कम्तीमा २ प्रतिशत मानिसको कोरोना परीक्षण गर्ने रणनीतिमा सरकार रहेको उल्लेख गरे । उनले औषधिको प्रबन्ध द्रूत गतिमा गरिने पनि बताए ।

नेपाल टेलिभिजनमार्फत् साँझ साढे ५ बजे गरिएको सम्बोधनमा उनले २ महिनाको शिशुदेखि ८१ वर्षको वृद्धसम्मलाई कोरोना निको हुनुलाई सफलता मान्नुपर्ने बताए । उनले महामारीविरुद्धको लडाई शुरुमा अलमलजस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताए ।

प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण सातै प्रदेशका २० भन्दाबढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए । उनले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचना क्वारेन्टाइनका रुपमा विकास गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width