थप एक युवतीमा स्क्रव टाइफस संक्रमण

साधन राम्जाली
जेठ ८, २०७७
beni-hospital-

म्याग्दी ८ जेठ । म्याग्दीको बेनी नगरपालिका–६ छापकी एक युवतीमा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ ।

बुधबार बेनी अस्पतालमा उपचार गराउन आएकी १८ वर्षीया युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिका–६ छापबाट उपचारका लागि बेनी अस्पताल आएकी ती युवतीमा चेक गर्दा १०३ डिग्री फ. ज्वरो देखिएको ,टाउको दुख्ने लगायत लक्षण देखा परेको थियो । संक्रमित विरामीलाई अस्पतामा भर्ना गरिएको छ ।

योसंगै म्याग्दीमा स्क्रव टाइफसका विरामीको संख्या ३ पुगेको छ । यसअघि पुस १७ गते बेनी नगरपालिका–९ गलेश्वरकी ६६ वर्षीया महिला र बैशाख ९ गते जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ वर्षीय पुरुषमा स्क्रव टाइफस र डेङ्गु पोजेटिभ देखिएको थियो ।स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताए । यसलाई सामान्य बोलिचालीको भाषामा भुसुना पनि भन्ने गरिन्छ । उनका अनुसार यो रोग माइटमा पाइने  Orentia Tsutsugamushi भन्ने जीवाणुबाट लाग्दछ ।

स्क्रव टाइफस संक्रमित विरामीमा धेरै ज्वरो आउने ,धेरै टाउको दुख्ने ,पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ । माइट प्रायःजसो झाडी ,खेतबारी ,वन, जंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले खेतबारीमा काम गर्न जादा पुरा शरिर ढाक्ने कपडा लगाउने ,सरसरफाइमा विशेष ध्यान दिन , सकेसम्म घाँसबारी र चउरमा नबस्न तथा मुसा नियन्त्रणका लागी उपयुक्त किसिमले अन्न भण्डार नगर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने डा. अधिकारीको सुझाव छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको त्रास बढिरहेको समयमा म्याग्दीमा भने डेङ्गु र स्क्रव टाइफस रोगका विरामी बढ्ढै गएपछि म्याग्दीवासी थप त्रसित बनेका छन् । डेङ्गु र स्क्रव टाइफस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको अगुवाइमा म्याग्दीमा सचेतनामुलक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु चलाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width