पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा कलाकार संघद्वारा राहत वितरण

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
Rahat 1

पोखरा, ४ जेठ । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा सांगीतिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो । ‘हामीले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने ‘पोखरा नेपाल युके फाउण्डेशन युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो’।

संघले स्थानीय र जनप्रतिनिधीसंग सहकार्य गरी राहत पाउनुपर्ने विपन्न परिवारको पहिचान गरेर खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । पोखरा–६ लेकसाइडका बिभिन्न क्षेत्र गरी ५३ परिवारका लागि ाहत वितरण गरिएको जनाइएको छ । जसमा जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो । नेपालको प्रमुख पर्यटकीय गन्तब्य पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउन र कोरोनाका कारण पुर्णरुपमा बन्द रहेका छन् । रेष्टुरा र होटल बन्द भएपछि यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ । राहतले उनीहरुलाई थोरै भए पनि मल्हम लगाउन सहयोग पुग्ने संघका सदस्य गायक बिनोद बानियाले सुनाए ।

नेपाल कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परी ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरी वितरण गरिएको छ । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरी एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरी वितरण गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।

यस अघि संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ । संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको संघका अध्यक्ष थापाले जनाए । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सांगीतिक कलाकार संघले राहत वितरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै