जगत र रोस्मालाई अनलाइन कराते कातामा स्वर्ण

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
Roshma & Jagat

पोखरा । कराते डोजोका जगतसिंह धानुक र खोटाङ डोजोकी रोस्मा राईले प्रथम शंखडोल खुला अनलाइन कराते काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

शंखडोल डोजोको आयोजनामा भएको अनलाइन काता प्रतियोगितामा जगतले पुरुषतर्फ र रोस्माले महिलातर्फको स्पर्धामा स्वर्ण जितेका हुन् ।

जगतले २४ दशमलब ५ अंकसहित स्वर्ण जितेका हुन् । उक्त स्पर्धामा बालजु डोजो एकेडेमीका धिरेस श्रेष्ठले २३ अंकका साथ रजत जित्दै दोस्रो भए । त्यस्तै, नरहरि डोजोका स्वर्णिम मानन्धरले २२ दशमलब ५ अंक बटुल्दै कास्य पदक जिते ।

महिलातर्फको स्पर्धामा रोस्माले २४ दशमलब ५ अंकका साथ स्वर्ण जितेकी हुन् । महिलातर्फकै उक्त स्पर्धामा धनगढी कराते एकेडेमीकी वर्षा साउदले २३ अंकका साथ रजत पदक जितिन् । विभागीय टोलीकी सरिता श्रेष्ठले २२ दशमलब ५ अंकका साथ कास्य जितिन् ।

प्रतियोगितामा स्वर्ण विजेता जगत र रोस्माले समान १२ हजार ५ सय पुरस्कार हात पारे । रजत पदक विजेता धिरेस र वर्षाले समान ६ हजार ५ सय पुरस्कार जिते । त्यस्तै, कास्य पदक विजेता स्वर्णिम र सरिताले समान ४ हजार पुरस्कार जिते ।

त्यस्तै, लैनचौर डोजोका रेहान जाबेदले प्रतियोगितामा उदीयमान खेलाडीको पुरस्कार जिते । सुर्खेतका प्रदीप राईले म्याच्युयर विधाको उपाधि जिते । उदीयमान खेलाडी र म्याच्युयर विधाका खेलाडीलाई ट्रफी प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २२ तथा महिलातर्फ ११ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा निर्णायकको भूमिकामा आठौं सागका स्वर्ण पदक विजेता गंगाराम महर्जन र १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ थिए । सागका स्वर्णधारी तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको सहयोगमा प्रतियोगिताका भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width