बागलुङको गलकोटमा उच्च सतर्कता, प्रवेश नाका सिल

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
baglung-no-entry

पोखरा, ३१ वैशाख । बागलुङ गलकोटमा कार्यरत मजदुरमध्ये १४ जना पर्सामा कोरोना संक्रमित देखिएपछि उच्च सतर्कता अपनाइएको छ । सो घटनालाई लिएर बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले नाकामा कडाई गर्ने तथा कन्ट्याक्ट ट्रेसिङ तत्काल लिने निर्णय गरेको छ ।

पर्सा लगायत जिल्लाका मानिसहरु गलकोटमा मजदुरी गर्दै आएका थिए । उनीहरुले लामो समयको लकडाउनले आफूहरुलाई समस्या परेको भन्दै नगरपालिकासमक्ष बिन्ती बिसाएपछि नगरपालिकाले ११ वैशाखमा २ वटा गाडी बस्तोबस्त गरी उद्धार गरेको थियो । नवराज रेग्मी चालक रहेको बा ३ ख ९३०९ र ईश्वर क्षेत्री चालक रहेको बा ४ ख ५७९० नम्बरको २ वटा बसमा कुल ७९ जना मानिस चढेका थिए । जसमध्ये बा ३ ख ९३०९ नम्बरको गाडीमा ३९ जना र अर्कोमा ४० जना मानिस थिए । यद्यपि, कोरोना संक्रमित भेटिएका १४ जना बाँडिएर दुवै गाडीमा रहेको हुँदा को–कुन गाडीमा थिए भन्ने यकिन हुन सकेको छैन ।

विपत् व्यवस्थापन समितिको बैठकपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले टेलिफोनमा भने, ‘यहाँ कार्यरत मजदुर पर्सामा संक्रमित देखिएपछि उच्च सतर्कता अपनाउने, नाकामा कडाइ गर्ने र ती मजदुरको सम्पर्कमा आएकाहरुको तत्काल पहिचान गरिने भएको छ ।’ बागलुङ सदरमुकामदेखि गाडीमा २ घण्टा पश्चिममा पर्ने गलकोट जिल्लाको तेस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ। पौडेलका अनुसार ती मजदुरहरुमध्ये केही निर्माणाधीन हरिचौर स्वास्थ्य चौकीमा कार्यरत थिए । यस्तै केही फर्निचर उद्योग, ग्यारेज, सडक लगायतमा कार्यरत थिए भने कोही चना–चटपट बेच्थे । उनीहरु ११ वैशाख साँझ हटियाबाट गाडी चढेर पोखरा हुँदै पर्सातर्फ लागेका थिए । पर्साको छिपहरमाई नगरपालिकाका मात्रै २९ जना थिए । त्यसबाहेक रौतहट र बारा जिल्लाका पनि थिए ।

ती मजदुर बागलुङमै रहँदा संक्रमित थिए वा पर्सामा संक्रमित भए भन्नेबारेमा यकिन हुन सकेको छैन । बुधबारको बैठकमा सहभागीमध्ये अधिकांशले उनीहरु गलकोटमा रहँदा शारीरिक स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा यहाँ संक्रमित हुने सम्भावना नरहेको बताएका थिए ।यसैबीच, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले बागलुङमा यसअघि पनि २ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउँदै आइएकोमा पछिल्लो केसले ध्यानाकर्षण भएको जनाए।

बागलुङबाट पर्सा हिडेका उनीहरुलाई भने पोखरा आएपछि कास्की प्रशासनले रोकेको थियो । एक रात पोखरामै गाडीमा बिताएका उनीहरु बाटोमा अलपत्र परेपछि सम्बन्धित छिपहरमाई गाउँपालिका अध्यक्षसँग टेलिफोन कुराकानीमा क्वारेन्टाइन व्यवस्था भए पठाउने भनिएपछि कास्कीले अनुमति दिएको थियो । बागलुङबाट हिडेको तेस्रो दिन अर्थात १३ वैशाखमा मात्र उनीहरु पर्सा पुगेका थिए ।पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाँइनमा बसेका ६२ मध्ये १४ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा राख्ने बेला नै १ जनामा उच्च ज्वरो देखिएकोले सम्बन्धित गाउँपालिका अध्यक्षकै पहलमा विशेष निगरानीमा क्वारेन्टाइन राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width