प्रविधिको प्रयोग गरेर विद्यालयको वार्षिक परीक्षाफल प्रकाशन

रासस
वैशाख २०, २०७७
school-exam-students-nepal

फाइल फाेटाे ।

समय पहिलाजस्तै भएको भए यतिबेला विद्यालयहरुमा नयाँ शैक्षिकसत्र शुरु भइसकेको हुन्थ्यो । कक्षाकोठामा अध्ययन/अध्यापन कार्य चलिरहेको हुने थियो । वैशाखको तेस्रो साता बितिसक्दासमेत यस वर्ष गत वर्षको वार्षिक परीक्षाफल नै प्रकाशन भएको छैन ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीले सबै क्षेत्र ठप्प छ । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कनसमेत बन्देज गरिएको छ । जसले गर्दा विद्यालयले हालसम्म पनि वार्षिक परीक्षाफल तयार गर्न नसकेका हुन् ।

चैत पहिलो साता लिइएको वार्षिक परीक्षाफल प्रकाशनमा ढिलाइसँगै विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न थालेपछि जिल्लामा केही स्थानीय तहले परीक्षाफल प्रकाशनका लागि निर्देशन दिएका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई अविलम्व वार्षिक परीक्षाफल प्रकाशनका लागि निर्देशन दिएको छ । गाउँपालिकाको निर्देशनसँग केही विद्यालयले नतिजा प्रकाशन गरिसकेका छन् भने अन्यले तयारी शुरु गरेका छन् ।

परीक्षाफल सार्वजनिक गर्दा लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्न भनिएको छ । सामाजिक सञ्जाल, टेलिफोन, एफएम रेडियोमार्फत गराउने साथै विद्यालयको सूचना पाटीमा टाँस गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ । निर्देशनपछि केही विद्यालयले सामाजिक सञ्जाल, विद्यालयको फेसबुक पेज, म्यासेन्जर तथा टेलिफोनबाट नतिजा सार्वजनिक गर्न शुरु गरेका छन् ।

गाउँपालिकाको वडा नं ५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयले शुक्रबार विद्यालयको फेसबुक पेज तथा सूचना पाटीमा नतिजा टाँसेर परीक्षाफल प्रकाशन गरेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतले बताउनुभयो । विभिन्न टोलमा केही व्यक्तिहरुको म्यासेन्जरमा नजिता पठाइएकाले समेत विद्यार्थी र अभिभावकले त्यसबाट समेत जानकारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा नतिजा सुन्न विद्यार्थी र अभिभावकको भीड लाग्ने गरेकामा यसपटक सम्भव भएका प्रविधिलाई उपयोग गरेर सबै विद्यार्थीसम्म नतिजा पुर्याइएको बताइन्छ । “विद्यमान प्रविधिको उपयोग गरेर भए पनि परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीमा लामो समयदेखि देखिएको अन्योल अन्त्य भएको छ । अब घरमै बसेर पनि उपल्लो कक्षाको पाठ्यपुस्तक अध्ययन गर्न विद्यार्थीलाई सहज भएको छ”, प्रध्यानाध्यापक रावतले भन्नुभयो ।

नौ वडा रहेको माछापुच्छ्रेमा सामुदायिक ४३ र संस्थागत सात गरी ५० विद्यालय छन् । चार/पाँच दिनभित्र सबै विद्यालयले वार्षिक परीक्षाफल प्रकाशन गरिसक्ने बताइन्छ । परीक्षा दिएको लामो समयसम्म नजिता थाहा नहुँदा विद्यार्थीमा निराशा छाउने र पढ्ने बानी कम हुँदै जाने भएकाले नतिजा प्रकाशनका लागि निर्देशन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा सञ्चालन हुन नसके पनि नतिजा प्रकाशित भएपछि विद्यार्थीले घरमै दाइदिदीका भए पनि पाठ्यपुस्तक खोजेर भए पनि अध्ययन गर्लान् भनेर सबै विद्यालयलाई नतिजा प्रकाशित गर्न भनेका हौँ ।” गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षाको नतिजा तयार गरी प्रकाशन गर्ने र प्रमाणीकरणका लागि लकडाउन समाप्त भएपछि गाउँपालिकामा पेश गर्न अनुरोध गरिएको छ ।

रुपा गाउँपालिकामा पनि रोकिएको परीक्षाफल प्रकाशनका लागि सबै विद्यालयले तयारी गरिरहेको र केही दिनमा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । सामाजिक दूरी कायम गर्ने, प्रविधिलाई अनुशरण गर्ने गरी दुई निजी र ३१ सामुदायिक विद्यालयले नतिजा प्रकाशनको तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

गाउँपालिकाले नयाँ पाठ्यपुस्तक वितरण नगर्दासम्म पुराना पाठ्यपुस्तक सङ्कलन गरी वितरण गरिने जनाएको छ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले लकडाउका अवधिमा समेत नतिजा सार्वजनिक गर्नेबारेमा विद्यालयका प्रधानाध्यापकसँग अनौपचारिक छलफल गरे पनि हाललाई सम्भव नदेखिएको बताएको छ । लकडाउनका कारणले शिक्षक, कर्मचारी विद्यालय आउन सक्ने अवस्था नरहेको तथा कतिपय शिक्षकहरु गाउँ फर्किसकेकाले लकडाउन खुलेको एक हप्ताभित्रमा सबै विद्यालयले नतिजा सार्वजनिक गरी सक्ने महानगर शैक्षिक महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले बताउनुभयो ।

महानगरमा २०७ सामुदायिक र १७५ संस्थागत विद्यालय छन् । “गाउँमा अधिकांश शिक्षकको घरपायक हुन्छ, लकडाउन पनि त्यति कडाइ हुँदैन । परीक्षाफल प्रकाशनको तयारी गर्न सकिन्छ । शहरमा शिक्षक विद्यालय आउनै समस्या देखियो”, गुरुङले भन्नुभयो । लकडाउनका अवधिमा कतिपय विद्यालयलले अनलाइन कक्षा सञ्चालन गरेपछि महानगरले हालै त्यसलाई रोक लगाएको छ । अनलाइन कक्षा सञ्चालनबाट विकृति बढेको भन्दै रोक लगाइएको महानगरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width