गुरुङ जातिको ऐतिहासिक स्थल क्होलासोंथरको अध्ययन अनुसन्धान रोकियो   

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
12

फाेटाेः लब्लि ताँङतिङकाे फेसबुकबाट

गुरुङ जातिको ऐतिहासिक स्थल क्होलासोंथरमा गर्ने भनिएको उत्खनन एवं अनुसन्धान कार्य विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित भएको छ ।

झण्डै एक दशकअघि २०५८ सालमा क्याम्ब्रिज युनभर्सिटी, तमु प्ये ल्हुसङ्घ र पुरातत्व विभागको संयुक्त प्रयासमा कास्की र लमजुङको सीमामा पर्ने क्होलासोंथरमा अनुसन्धान थालिए पनि तत्कालीन द्वन्द्वात्मक अवस्थामा कारण अनुसन्धानले अन्तिम रुप लिन सकेको थिएन ।

फाेटाेः लब्लि ताँङतिङकाे फेसबुकबाट

उक्त समयमा यहाँका तीन घरको उत्खनन गरिएको तमु प्ये ल्हु सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । तत्कालीन अध्ययनले यहाँको बस्ती एक हजार २०० वर्षभन्दा पुरानो भएको पुष्टि गरेको बताउँदै उहाँले अनुसन्धानका बाँकी काम यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

“यस वर्षको अनुसन्धानका लागि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीका तर्फबाट तमु प्ये ल्हु सङ्घमा प्रस्ताव आइसकेको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण भित्रन नदिन जारी बन्दाबन्दीका कारण उक्त प्रस्ताव सङ्घबाट पारित गरी गण्डकी प्रदेश सरकार समक्ष पुर्याउन सकिएको छैन ।” युनिभर्सिटीले यसका लागि पुरातत्व विभागलाई अनुरोध गरिसकेको उहाँले बताउनुभयो ।

फाेटाेः लब्लि ताँङतिङकाे फेसबुकबाट

तमु समुदायको प्राचीन धर्म शास्त्र प्ये तां ल्हुं तां मा क्लोहासोंथरमा प्राचीनकालमा ८५ घर रहेका उल्लेख छ । बोन समुदायको प्राकृत च्वों भाषामा लिखित उक्त ग्रन्थमा भनिए जस्तै प्रारम्भिक अध्ययनमा पनि ८५ वटै घरका भग्नावशेष देखिएको तमु प्ये ल्हु सङ्घले जनाएको छ । तमु समुदायको ऐतिहासिक स्थल क्होलासोंथरको थप अध्ययन अनुसन्धान गरी यसको प्रवद्र्धन र विकासका कामलाई अघि बढाउने सोच राखिएको तमु प्ये ल्हु सङ्घका केन्द्रीय अध्यक्ष हितकाजी तमुले जानकारी दिनुभयो । इतिहास खोतल्दै जाँदा वर्तमानमा विश्वव्यापी फैलिएको कोराना भाइरसको सङ्क्रमण जस्तै झण्डै एक हजार वर्षअघि क्होलासोंथरमा महामारी हुँदा ठूलै जनधनको क्षति भएको थियो ।

उक्त महामारीमा तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएको र महामारी अन्त्य भएको विश्वासका आधारमा अझै पनि उक्त पूजा वर्षेनी गर्दै आइएको छ । त्यसयता तमु सम्बद्ध सङ्घसंस्थाले समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा उक्त पूजा गर्दै आएका छन् ।

गाउँघरमा अहिले पनि पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको छ । यसै विश्वासलाई दृष्टिगत गर्दै कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै सङ्घले पोखरामा गत चैत ४ गते ट्हो त्हेँ पूजा सम्पन्न गरेको थियो ।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकरुपमा क्होलासोंथर महत्वपूर्ण स्थल मानिन्छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेस र ताङतिङबाट दुई दिनको पदयात्रामार्फत पर्यटक उक्त स्थान पुग्दछन् । क्होलासोंथर जाने मुख्य मार्ग भएका कारण गुरुङ समूदायको जीवन्त सङ्ग्रहालय जस्तै बनेको सिक्लेस पनि पर्यटकको थप आकर्षणको केन्द्र बनेको सिक्लेस युवा क्लबका पूर्वसचिव देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।

“पछिल्ला वर्षमा सिक्लेस हुँदै क्होलासोंथर पदयात्रामा जाने स्वदेशी एवं विदेशी पर्यटक बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “यो गुरुङ जातिको ऐतिहासिक स्थल त हो नै पदयात्रा पर्यटनका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा विकास भएको छ ।” ऐतिहासिक महत्वलाई दृष्टिगत गरी गर्न लागिएको उत्खननसहितको अनुसन्धानले यहाँका धेरै लुकेका पक्षको उजागर गर्ने उहाँले बताउनुभयो ।

(वासुदेव पौडेल, रासस)

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads