घोडाघोडी । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका –९ प्रतापपुरका राज विकलाई आज आमा भेट्ने मेसो पनि मिलेन । “दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।” उहाँ रुञ्चे स्वरमा भनिरहनुभएको थियो ।
“लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो”, विकले भन्नुभयोे, “अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उहाँहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।”
दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उहाँको आत्मविश्वास अझै बढ्यो । “मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उहाँहरू मेरा भगवान् भएर आउनुभएको छ । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।”
दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उहाँले पहिलो पटक आमाबुबालाई सम्झनुभयो । “एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।” उहाँलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उहाँले बताउनुभयो ।
अस्पताल बसाइका क्रममा उहाँले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् ।
“अहिले घर आएको छु । अलग्गै बसिरहेको छु । चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन ।”
उहाँ सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा हुनुहुन्थ्यो । आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उहाँको विश्वास छ ।
छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताउनुभयो । संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उहाँलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उहाँका आँखाबाट खुशीका आँशु झरे । “छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।”
भारतको मुम्बईबाट गत चैत ११ गते आउनुभएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई यही वैशाख ७ गते सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१