विजय नेपाल -पोखरा।विद्यार्थी रिहाइ माग गर्दै नेपाल विद्यार्थी संघ कास्कीले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्ताल स्थगित भएको छ । नेविसंघ नेता एवं पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल (राजेश) लाई प्रहरीले सोमबार पक्राउ गरेको थियो भने अन्य ८ जना विद्यार्थीलाई पक्राउ पुर्जी जारी गरेको थियो । सोको विरुद्ध नेविसंघ कास्कीले फागुन १५ देखि लागू हुने गरी जिल्लामा अनिश्चितकालीन शैक्षिक संस्था बन्द आह्वान गरेको थियो ।
यसैबीच, दुई दिनयता चरणबद्ध आन्दोलनअन्तर्गत नेविसंघले मंगलबार पोखरा नगरभित्र सरकारी गाडी चल्न दिएन । पृथ्वीनारायण क्याम्पस गेटअघि, पोखरा विश्वविद्यालय नजिक पृथ्वीराजमार्ग, चिप्लेढुंगा, महेन्द्रपुल, भैरवटोलबाट नेविसंघले एक दर्जन गाडी नियन्त्रणमा लिएको नेविसंघ कास्कीका पूर्व अध्यक्ष विक्रमादित्य सिंह (गिरी)ले जानकारी दिए । उनीहरुले साँझ ती गाडी फिर्ता गरेका छन् । यसैबीच, बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि सरकारी गाडी नियन्त्रण लिनेक्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरी कुटपिटबाट सुजन तिमिल्सिना घाइते समेत भए । उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउन खोजिएको भन्दै नेविसंघका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका छन् । उनीहरुले दुईदिनसम्म पोखरा शहरको चोकचोकमा चक्काजाम गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरे । घटनाले विषम परिस्थिति उत्पन्न हुने देखिएपछि नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीसहित जिल्लास्तरका नेता र जिल्ला प्रशासन कास्कीबीच मंगलबार साँझ वार्ताबाट सहमति खोज्ने प्रयास भएको छ । मुद्दा फिर्ता सहित सहमति खोजिने कास्कीका प्रमुख जिल्ला अधिकारीको आश्वासनपछि तत्कालका लागि पूर्व घोषित शैक्षिक हड्ताल कार्यक्रम फिर्ता लिइएको नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए ।
पक्राउ पुर्जी जारी भएका सतिश बास्तोला, गौरव बराल, विपीन नेपाली, स्वरूप बञ्जाडे, सौरभ चापागार्इं, सुजी हितान मगर, युवराज पौडेल, अक्कल क्षत्री भने हालसम्म फरार छन् । पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच गत विहीवार झगडा हुँदा अनेरास्ववियुनिकट विद्यार्थी नेता विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । नेविसंघका कार्यकर्ताविरुद्ध कास्की प्रहरीमा उजुरी परेपछि नेविसंघका नेता हमाललाई प्रहरी पक्राउ गरेको थियो ।
व्यक्तिगत रिसइबीका कारण घटना मुठभेडको अवस्थासम्म पुगेको दाबी गर्दै अनेरास्ववियुले भने घटनाको कुनै जिम्मेवारी नलिएको नेविसंघको आरोप छ ।घटना प्रवृत्तिअनुसार दुवै पक्षबाट हानाहान भएको देखिए पनि अनेरास्ववियुका कार्यकर्ताले बेइमानी गरेको काँग्रेस कास्कीका सभापति केसीको भनाइ छ । ‘घटना प्रवृत्तिअनुसार पहिला अखिलका साथीहरुले आक्रमण गर्नुभयो । तर, नेविसंघका साथीहरुले उजुरी दिनुभएन,’ उनले भने, ‘तर, अखिलका साथीहरु राजनीतिक रुपमा बेइमान निस्किनुभयो । एक–दुई झापड खाएको उजुरी दिनुभयो ।’
नेविसंघ कास्कीका पूर्व अध्यक्ष गिरीले सहमति अनुसार कस्तो कार्यान्वयन हुन्छ, त्यसको प्रतीक्षामा रहेको बताए । सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने बताए ।नेविसंघ केन्द्रीय कार्यालय काठमाडौंले समेत पृथ्वीनारायण क्याम्पसका कार्यकर्ता पक्राउको विषयलाई लिएर झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाएको छ । घटनामा उपस्थित नै नभएका राजेश हमाल लगायत विद्यार्थीमाथि राजनीतिक प्रतिशोध साँध्न झुठा मुद्दा लगाइ फसाउन खोजिएको आरोप विज्ञप्तिमा छ ।
नेविसंघले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कारबाही गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएको भन्दै माफी माग्नुपर्ने माग समेत गरेको छ । नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसीको नेतृत्वमा भएको आन्दोलनमा पूर्व जिल्ला अध्यक्षद्वय विक्रमादित्य सिंह (गिरी) र विकास थापा, पूर्व जिल्ला सचिव भोजबहादुर गुरुङ, पोखरा इञ्जिनियरिङ कलेज नेविसंघका अध्यक्ष टेनिस श्रेष्ठ, नेविसंघ पिएन क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्ले, विद्यार्थी नेताहरु विरोध सुवेदी, राजीव भण्डारी, सागर रानाभाट लगायत आन्दोलनमा होमिएका थिए ।
Related News
सम्बन्धित समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१