सिकाइ, भोगाइ र आविष्कार प्रदर्शनीमा

रासस
मंसिर २५, २०७६
BasudevPaudel_Pokhara_RSS_morninggloryacedimic

पोखरा, २५ मंसिर । कतै रोबोर्ट, कतै गाडी त्यस्तै स्कूले जीवनका सिकाइ, समाजको भोगाइ र विज्ञानका आविष्कार समेटिएका नवोदित बालबालिकाका सिर्जना यतिखेर पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा छरिएका छन् ।

हाम्रो समाजका भोगाइ तथा आविष्कारका साथै विगत र आगतको सम्पूर्ण झल्कोलाई विद्यार्थीले आफ्ना सिर्जनामा उतारेका हुन् । प्रदर्शनीमा रुचि राख्ने आगन्तुकलाई आफ्ना सिर्जनाका सम्बन्धमा बताउन उनीहरूलाई भ्याइनभ्याइ देखिन्छ । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) कास्कीको आयोजनामा मङ्गलबारदेखि शुरु भएको चार दिने बृहत् शैक्षिक प्रदर्शनीमा कास्कीका ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

विद्यार्थीले सिकेका कुरा व्यवहारमा उतार्नका लागि बृहत् शैक्षिक प्रदर्शनी राखिएको एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । “हामी सिकाइलाई व्यावहारिक बनाउन चाहन्छौँ”, उनले भने “विद्यार्थीले कक्षा कोठामा सिकेका तथा समाजमा देखे भोगेका कुरालाई प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरेका छन् ।”

प्रदर्शनीमा रोबोर्टदेखि गाडीलगायतका आविष्कार, इतिहास, भाषा, गणितका साथै सामाजिक भेदभाव आदि झल्काउने सामग्री प्रस्तुत गरिएको छ । प्रदर्शनीमा विद्युत्बाट चल्ने गो कार्ट (गाडी) बनाएका लिटिल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिठ्ठेपानीका कक्षा १० का विद्यार्थी रुपेश चदरा खड्काले प्रदर्शनीले आफूहरूका प्रतिभालाई देखाउने महत्वपूर्ण अवसर मिलेको बताए ।

आफूले झण्डै एक महिना समय लगाएर विद्युतीय गाडी बनाएको बताउँदै उहाँले यसको निर्माणमा विद्यालयका साथै घरमा बुबाआमाको उत्प्रेरणा र सहयोग मिलेको बताए । उक्त विद्यालयका कक्षा १० का विद्यार्थीले मेषदेखि मीनसम्म बाह्रै राशिको तारामण्डल, कक्षा ९ र १० विद्यार्थीले परम्परागत गोल घर, हिम घरजस्ता विभिन्न सिर्जना तयार गरेको विद्यालयका प्राचार्य विष्णुहरि पौडेलले बताए ।

“अवसर पाएका विद्यार्थीले धेरै गर्न सक्छन् भन्ने यो प्रदर्शनीले प्रमाणित गरेको छ”, उनले भने । “सिकाइको दिगोपनाका साथै त्यसलाई व्यवहारमा उतार्न यसले ठूलोे सहयोग पुग्ने देखिन्छ ।” प्रदर्शनीमा मर्निङ ग्लोरी एकेडेमिक स्कूल पोखरा ३३ बाघमाराका विद्यार्थीले पुरानो ढुङ्गे युग झल्कने सिर्जना तयार गरेका छन् भने उनीहरूले समाजमा विद्यमान छुवाछूतको झल्को दिने गरी तयार गरेका सामग्रीले यहाँ आउने जो कोहीको मन छोएको छ ।

विद्यार्थीले तयार गरेको सिर्जनामा एक जना महिलाले गरीब तथा विपन्न वर्गको मानिसलाई टाढैबाट पानी दिएको देखिन्छ तर बिडम्वना के छ भने छोइन्छ कि भन्ने डरले तर्केर पानी दिइरहेकी उनलाई पछाडिबाट कुकुरले छोएको छ । हाम्रा समाजका यस्तै विभेद, छुवाछूत र विडम्बनालाई विद्यार्थीले आफ्ना सिर्जनामा उतारेका छन् ।

कक्षामा सिकेका र समाजमा देखेका यस्तै विषयलाई मेहनत गरेर प्रदर्शनीका लागि तयार गरिएको मर्निङ ग्लोरी एकेडेमिक स्कूलकी कक्षा १० कि छात्रा बृन्दा सुवेदीले जानकारी दिए । एनप्याब्सनले विद्यार्थीका प्रतिभालाई प्रष्फुटित गराउने लक्ष्यका साथ हरेक दुई÷दुई वर्षमा एक वर्ष शैक्षिक प्रदर्शनी र एक वर्ष खेलकूद प्रतियोगिता गर्दै आएको छ । वार्षिक क्यालेन्डरमा नै उल्लेख गरिने भएकाले विद्यालयले त्यहीअनुरुप आफ्नो तयारी गर्ने गरेका छन् ।

प्रदर्शनीका लागि चारवटा विधा छुट्याइएको एनप्याब्सन कास्कीका प्रथम उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप प्रमुख शिवदत्त तिवारीले जानकारी दिए । “तोकिएका विधामा आधारित भई विद्यालयले आफ्ना विद्यार्थीलाई प्रदर्शनीमा राखिने सामग्री तयार गर्न लगाउने गरेका छन्”, मर्निङ ग्लोरी एकेडेमिक स्कूलका प्राचार्यसमेत रहेका तिवारीले भने “यस प्रदर्शनीमा जिल्लाका एनप्याब्सन अन्तर्गतका ३१ विद्यालयका तर्फबाट सामग्री राखिएको छ ।”

प्रदर्शनीका लागि विज्ञान तथा प्रविधि, सामाजिक, भाषा र गणित गरी चारवटा विधा छुट्याइएको छ । विद्यार्थीले कक्षा कोठामा सिकेका विषयलाई प्रदर्शनीका माध्यमबाट व्यवहारमा उतारेको बताउने एलपी देवकोटा मेमोरियल स्कूलका शिक्षक मदन मैनालीले सिकाइलाई अझै निखार्दै लैजानका लागि यो बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

वासुदेव  पाैडेल

Related News

सम्बन्धित समाचार

hero news full width