प्याडले छात्रा विद्यालय नियमित

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७६
Bidhyalayama Paddai Chatra@Lamjung 1

लमजुङ, ७ असोज । लमजुङमा विद्यालयस्तरमा सेनेटरी प्याडको सुविधा हुन थालेपछि छात्रा नियमित भएको पाइएको छ । क्व्होलासोंथर गाउँपालिका– १ बाग्लुङपानीस्थित जनज्योति माध्यमिक विद्यालयमा त्यस्तो नतिजा देखिएको हो ।

जनज्योति माविमात्र होएन जिल्लाका अन्य बेसीशहर नगरपालिका– ७ को चण्डिडाँडा स्थित जन विकास मावि, सुन्दरबजार नगरपालिका– ५ खहरेस्थित विद्याज्योति माविले समेत आफ्नो विद्यालयमा छात्राहरूका लागि महिनावारीको समयमा प्रयोग गर्न सेनेटरी प्याडको प्रवन्ध गरेका छन् ।

त्यस्तो सुविधासँगै छात्राहरू नियमित हाजिर हुने गरेको अनुभव छ भन्छन् जन ज्योति माविका प्रधानाध्यावक विलप्रसाद गुरुङ । उनले भने, ‘केहीवर्ष अघिसम्म विद्यालयमा सेनेटरी प्याडको सुविधा नहुँदा छात्राहरू महिनावारी भएको बेलामा विद्यालय नियमित हुँदैनथे र हरेक महिना ४– ५ दिन उनीहरू विद्यालयमा गयल हुने गर्थे ।’ उनका अनुसार अहिले त्यस्तो अवस्था छैन । उक्त सामुदायिक विद्यालयले छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याडको व्यवस्था गरिएको छ ।

केही विद्यालयले आन्तरिक स्रोतबाट र केहीले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडको व्यवस्था गर्ने गरेका छन् । जसका कारण छात्रा नियमित विद्यालय आउने भएका छन् । यसैगरी, छात्रा विद्यार्थीका लागि गुनासो सुन्ने शिक्षिका तोकिएको बेसीशहर नगरपालिका– ७ को चण्डिडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिला शर्मा धितालले बताए । उनका अनुसार छात्राहरुको पढाईमा पनि राम्रो हुँदै गएको छ ।

उनले भने ‘वर्षभरी धेरै अनुपस्थित हुने भनेको छात्रा थिए । त्यसको कारण खोज्दा महिनावारीको असहजताको कारण हो भन्ने थाहा भयो ।’ त्यसैले छात्रा विद्यार्थीलाई नियमित गराउन विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेका छौं उनले भने । उनका अनुसार विद्यालयले छात्रालाई सहज वातावरणमा अध्ययन गराउन प्याडको सुविधा दिएको छ ।

सुन्दरबजार नगरपालिका– ५ खहरेस्थित विद्याज्योति माविका छात्राहरूका सेनेटरी प्याडको आवश्यक पर्दा महिला शिक्षकसंग मागेर छात्राले प्रयोग गर्ने गरेको सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त अधिकारीले बताए । उनले भने ‘सेनेटरी प्याडको व्यवस्था भएपछि छात्रा नियमित विद्यालय आउने गरेका छन्, यसले उनीहरूको पढाईको स्तरमा पनि बढोत्तरी भएको अनुभव छ ।’

गैरसरकारी संघसंस्थाको सहयोगमा छात्राका लागि सेनेटरी प्याडको प्रवन्ध गरिएको सो माविका सहायक प्रधानाध्यापक राजु थापाले बताए । उनका अनुसार विद्यालयले आफैं व्यवस्था गर्न सकेको छैन, जिल्लाका विभिन्न संघसंस्थाले सहयोग गरेका छन्, राम्रै भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख बीरबहादुर गुरुङले छात्रा विद्यार्थीलाई विद्यालयमा नियमित गराउन जिल्लाका सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्न अनुरोध गरिएको बताए । उनले भने, ‘यो सुविधाले छात्रा नियमित आएर सहज वातावरणमा अध्ययन गरेको पाइएको छ ।’ उनका अनुसार जिल्लाका अधिकांश सामुदायिक विद्यालयले यो अभ्यास शुरू गरेका छन् ।

विद्याज्योति माविको कक्षा– ९ मा अध्ययनरत सम्झना अधिकारी उनका साथीहरूले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था भएपछि कक्षामा हुने पढाईमा आफूहरूलाई सहज भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै