शान्ति कोषलाई १३ लाख बढी सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७६
magdi photo

म्याग्दी ,४ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थिक सहयोग गरेको छ ।

मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैयाँ सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । बेल्जियममा कार्यरत म्याग्दी वासीहरुबाट संकलित सो सहयोग मोना बेल्जियमका महासचिव एवं कोषका संरक्षक प्रदीप थापा (सुमन)ले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई हस्तान्तरण गरेका हुन् ।

महासचिव थापाले मंगलबार नै कोषलाई दुई लाख रुपैयाँ सहयोग गरी संरक्षकको सदस्यता लिएको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिए । महासचिव एवं संरक्षक थापाले आर्थिक अभावकै कारण गरिव तथा विपन्न परिवारका विरामीले अकालमै ज्यान गुमाउन नपरोस र उपचारबाट बञ्चित हुन नपरोस् भनि आर्थिक सहयोग गरिएको बताए ।

आर्थिक सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्दै कोषका अध्यक्ष शाक्यले प्रदेशबाट आफ्नो गास कटाएर जिल्लाका गरिब विपन्न परिवारको स्वास्थ्य उपचारमा ठुलो सहयोग गर्नु उल्लेखनीय मानवीय सेवा भएको बताए । उनले सहयोगीहरुबाट प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी सोही कार्यक्रममा दुई मृगौला रोगी बेनी नगरपालिका –५ भीरमुनीका डेकनाथ शर्मा र बेनी नगरपालिका– ५ पुलाचौरकी नीसा सुवेदीको उपचारका लागि कोषले गरिव विपन्न विरामी अक्षयकोषको ब्याजबाट २५ हजारको दरले ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहयोग विरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

कोषले हालसम्म विभिन्न किसिमका जटिल रोगका विरामीहरुको उपचारका लागि २ करोड १८ लाख ५९ हजार रुपैयाँ बढी संकलन गरी सहयोग गरेको कोषका कोषाध्यक्ष खमथापा मगरले जानकारी दिए । उनका अनुसार डेढ करोड रुपैयाँको गरिव विपन्न विरामी उपचार अक्षयकोष स्थापनाका लागि अहिले सम्म ८१ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width