पोखरामा २१ जनामा डेंगु

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
dengue

पोखराको मुख्यबजार क्षेत्रमा डेंगु रोगका बिरामी भेटिएपछि यसको प्रकोप फैलिने खतरा बढेको छ। एक हप्तायता यहाँ २१ जनामा डेंगुको ए–पोजेटिभ भेटिएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय, पोखराका सूचना अधिकारी डा. भोजराज गौतमका अनुसार साउन १५ मा पोखरा–८, शिवालयचोकका एक व्यक्तिमा डेंगु संक्रमण भेटिएपछि गरिएको जाँचमा विहीवारसम्म संक्रमितको संख्या २१ पुगेको हो।

पोखरा वडा ८ मा ८ जना, वडा ९ मा ५ जना, वडा १७ मा १ जना, वडा ४ मा १ जना, वडा १० मा १ जना, वडा २५ मा १ जना, अन्य जिल्लाबाट आएका ४ जना गरी कुल २१ जनामा डेंगु संक्रमण भेटिएको जानकारी डा. गौतमले दिए। उनीहरुमध्ये गण्डकी मेडिकल कलेज (जिएमसी) मा ८, फेवा सिटीमा ८, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ र अन्य अस्पतालमा ४ जनाको उपचार भइरहेको छ। यो रोग लागेका उपचाररत् बिरामीको नियमित अनुगमन गरिएको छ।

‘पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो। अहिले उनीहरुको रगतको सेरोटाइप जाँचका लागि काठमाडौं पठाइएको छ। टाइप १ देखि टाईप ४ सम्मको भाइरस डेंगुमा हुन्छ १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ, ’ डा. गौतमले भने।

यो रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम उपाय हो। यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गर्छ।

डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट नै रहेको जानकारी डा. गौतमले दिए। ‘डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ। भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार छैन, ’ डा. गौतमले भने।

डेंगुको प्रकोप देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले यहाँका सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्याङ्क लिने र लामखुट्टे धपाउने अभियान शुरु गरिसकेको छ।

निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले शुक्रबारदेखि नै पोखरा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोज, नष्ट गर्ने र सचेतना अभियान शुरु गरिने छ।

यसैबीच, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) का मेडिकल अध्ययन विद्यार्थी सहितको टोलीले शुक्रवार पोखरा–८ र ९ मा लामखुट्टेको बासस्थान खोज र नष्ट गर्ने कार्यक्रम रहेको जानकारी स्वास्थ्य निर्देशक खड्काले दिए।

यस्तै, स्वास्थ्य निर्देशनालयले विहीवार सञ्चारकर्मीसँग भेटघाट गरी डेंगुको प्रकोप नियन्त्रण गर्न सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ। डेंगुको कुनै उपचार नभएको र खोप पनि नभएकाले ज्वरो आउने वित्तिकै उपचारका लागि स्वास्थ्य संस्था पुग्न चिकित्सकहरुले सल्लाह दिएका छन्।

डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न सक्ने हुन्छ।

डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खासै उपचार छैन। डेंगु ज्वरोबाट हुनसक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन।

लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो। त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन्।

वर्षासँगै डेंगु रोग कात्तिकको अन्तिमसम्म हुँदा सचेत हुन आमनागरिकलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ। स्वास्थ्य निर्देशनालयले त्यसबारे सचेतना दिन र पानीमा रहेका लार्भा तथा प्यूपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न नागरिक समाज, आमा समूह, लायन्स तथा युवा क्लब, टोल विकास संस्थाको सहयोग मागेको छ। डेंगुको संक्रमण कास्कीसहित अन्य जिल्लामा पनि देखिएको छ।

पोखराको मुख्यबजार केन्द्रित पोखरा वडा ८ र ९ मा यसबारे सचेतना कार्यक्रम जारी रहेको छ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेममोहन पौडेलले यसबारे महानगरको बैठक वुधवार नै बसेको र मेयर मानबहादुर जिसीले लामखुट्टेको खोज र नष्टको कार्यमा तुरुन्त अभियान चलाउन निर्देशन समेत दिएको जानकारी दिए।

वडाध्यक्ष र टोल विकास संस्थालाई अभियानमा प्रयोग गर्न मेयर जिसीले आग्रह गरेको पौडेलले जानकारी दिए। पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि लामखुट्टेको खोज र नष्टको अभियान महानगरका सबै वडामा चलाउन जरुरी भएको बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै