आन्तरिक एकतामा सुदृढीकरण : देउवा

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
deuba

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कमलप्रसाद पंगेनीका अधूरा कामलाई पूर्णता दिएर छाड्ने बताएका छन्।

भीरकोटमा सोमवार नेपाली काँग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य स्व.कमलप्रसाद पंगेनीको प्रथम स्मृति सभा तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन्। उनले पंगेनीले थालेका अपूरा कार्य पूरा गर्नतर्फ सबै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्।

प्रतिष्ठान स्थापना गर्न सजिलो हुने र तर सञ्चालन गर्न कठिन हुने भएकाले परिवारजनलाई साथ र सहयोग गर्नु काँग्रेसमा आस्था राख्नेहरुको कर्तब्य भएकाले यसलाई छिटोभन्दा छिटो मूर्तरुप दिन पनि सुझाव दिए।

स्याङ्जामा नेपाली काँग्रेसले पराजय गर्नु भनेको पार्टी भित्रैबाट एकता नभएकै कारण भएको भन्दै आगामी दिनमा पार्टीभित्रको आन्तरिक एकताा थप सुदृढीकरण गरेर अगाडि बढ्न पनि सभापति देउवाले आग्रह गरे। सो अवसरमा देउवाले ‘कमल पंगेनी स्मारिका’ विमोचन गरेका थिए।

स्वर्गीय पंगेनी चतुर, कुशल संगठन र गतिशील नेता भएको स्मरण गर्दै काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उनले देखाएको बाटोलाई पछ्याउन सकेमात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विचार ब्यक्त गरे। स्वर्गीय पंगेनीको नेतृत्वमा भएका अधुरा योजना पूरा गरेरै छाड्नेमा आँफू प्रतिबद्ध रहेको नेता श्रेष्ठले बताए।

काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सरकार भ्रष्टाचार र काण्डै काण्डमा चुर्लुम्म डुबेको आरोप लगाए। उनले देशलाई बदल्न खोज्नेहरु पहिला आफै बदलिन आवश्यक रहेको बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकारले जे नगर्नुपर्ने हो त्यहीमात्रै गर्दै गईरहेकाले बाटो विराएको आरोप लगाए। ‘इतिहासमै सबैभन्दा बलियो रहेको अहिलेको दुइतिहाई सरकारले देशलाई असफलतातर्फ धकेलिरहेको छ, नेता थापाले भने, ‘यहाँ त चुनाव हुने ब्यवस्था पनि जोगाउनै कठिन होला जस्तो छ यदि यो व्यवस्था जोगाउनमात्रै सके आगामी निर्वाचन नेपाली काँग्रेस पहिलो पार्टीकोरुपमा स्थापित हुने छ। ’

कार्यक्रममा काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, काँग्रेस कास्की सभापति कृष्ण केसी, पूर्व सांसदहरु खगेन्द्रराज रेग्मी, शंकरप्रसाद पाण्डे, काँग्रेस नेता रामचन्द्र पोख्रेल, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, शारदा पौडेल, राजु थापा, काँग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेकपा नेता सन्तोष केसी, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, भीरकोट नगर प्रमुख छायाराम खनाल, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, काँग्रेस क्षेत्र १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मी, काँग्रेस क्षेत्र २ का क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, स्वर्गीय पंगेनीकी सुपुत्री क्रान्ति पंगेनी, कमल पंगेनी स्मारिका प्रकाशन समितिका संयोजक जीवलाल काफ्ले, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए।

काँग्रेस स्याङ्जाका कावा सभापति बुद्धिबहादुर राना कुमारको अध्यक्षतामा भएको सो कार्यक्रममा स्याङ्जाका कोषाध्यक्ष प्रेमराज पौडेलले स्वागत, प्रवक्ता ईन्द्रबहादुर गोदारले संचालन र धन्यवाद मन्तब्य तोयनाथ अर्यालले गरेका थिए।

कार्यक्रममा कमल पंगेनी स्मृति प्रतिष्ठानका लागि स्वर्गीय पंगेनीकी धर्मपत्नी बेला पंगेनीको संरक्षक रहने गरी समिति गठन गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width