दुईतिहाई दम्भले मजदुर आतंकित : आचार्य

एजेन्सी
वैशाख २०, २०७६
tred union ph_Fotor

पोखरा, १९ वैशाख। नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सरकारले मजदुरलाई आतंकित बनाएको आरोप लगाएका छन्। उनले वर्तमान सरकार मजदुरको हक अधिकारप्रति अनुदार देखिएको बताए। एउटा गर्ने अर्को खेलमा वर्तमान सरकार लागेको बताउँदै मजदुरमाथि दमन काँग्रेसलाई सह्य नहुने उनल चेतावनी दिए।

विश्व मजदुर दिवस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आयोजित र्यालीपछिको सभामा पूर्व मन्त्री आचार्यले ओली सरकारले मजदुरको हकहितमा ठूला कुरा गरेर निरुत्साहित बनाउने काम गरेको बताए। उनले मजदुरको सामाजिक सुरक्षाकोष २०५४ मा काँग्रेस सरकारले थालनी गरेपनि गैरजिम्मेवार भएर पोलपोलमा फोटो झुन्ड्याउँदै नयाँ युगको थालनी भन्दै राजनीतिक बेइमानी गरेको बताए।

उनले प्रेस स्वतन्त्रता अभिव्यक्तिलाई कुन्ठित पार्ने काम गरेको भन्दै त्यस विरुद्ध श्रमजीवीहरू एक भएर बिरोधमा लाग्नुपर्ने समय आएको बताए। नेता आचार्यले प्रेस स्वतन्त्रता, मानव अधिकार र न्यायपालिकामाथि क्रमिक हस्तक्षेप बढाउँदै सरकार निरंकुशतातर्फ अघि बढेको बताए।

चिया बगानदेखि योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा मजदुरको हित विपरित काम गरिरहेकामा आचार्यले चिन्ता व्यक्त गरे। सरकारको आलोचना गर्दै नेता आचार्यले सबै क्षेत्र तहसनहस बनाउन सरकार लागिपरेको भन्दै सुन काण्ड, बालुवाटार काण्ड, बूढीगण्डकी काण्ड, मेलम्ची काण्ड, वाईडबडी काण्ड तथा निर्मला पन्तको हत्यारा अझैसम्म पत्ता लगाउन नसक्नु दुईतिहाइको दम्भ र सरकारको उद्देश्य छर्लंङ्ग भएको बताए।

कार्यक्रममा काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा एनटियुसी राष्ट्रिय समितिका सल्लाहकार रामजी कुँवरले पार्टीमा मजदुरका लागि छुट्याइएको कोटा काटिनु बिडम्वना भएको बताए। नेता कुँवरले मजदुरका पक्षमा काँग्रेसको भूमिका कमजोर भएकै कारण नेपाली श्रमिकले देश छोड्दै गएको धारणा राखे।

एनटियुसी राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले मजदुरले आफ्नो हकहित प्राप्त गर्न कसैसँग डराउन नहुने भन्दै मूलधारको राजनीतिमा आउन अनुरोध गरे। कास्की काँग्रेस सभापति कृष्ण केसीले काँग्रेसले गर्ने प्रत्येक आन्दोलनमा मजदुरको साथ भएकाले श्रमिकका मुद्धामा काँग्रेस गम्भिर बन्दै आएको बताए। नेपाल ट्रेड युनियन काँग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको सभामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, गण्डकी अध्यक्ष मुरारी शर्मा, टेकनाथ पन्थी, केशवराज भट्टराई, जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै