खाद्यान्न भन्दा मदिरा वढी बिक्छ कलेनामा

रासस
चैत्र २६, २०७५
Silgadi-Bazaar-450×320

डोटी, २६ चैत । दीपायल सिलगढी नगरपालिका– ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि यो वडा सामाजिक चेतनाको विकास नभएकै कारण पछि परेको छ ।

थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा पछिल्लो समयमा केही सुधार देखापरे पनि त्यो सन्तोषजनक छैन । घरमा भैंसी पाल्ने, दूध, दही, घीउ र बारीमा फलेको साग सिलगढी लगेर बेच्ने, अनि रक्सी किनेर पैसा उडाउने कलेनाका अधिकाँश पुरुषको नियति नै भएको छ ।

दूध, दही, घीउ, सागपात बेच्न घरका महिलाहरु बजारमा जान्छन् तर, पतिका लागि रक्सी किनेर लगिदिनुपर्ने बाध्यता छ उनीहरुलाई । गाउँमा पनि लुकिछिपि रक्सी बेच्नेको कमी छैन । कोही–कोही मानिस त बिहान चिया खाने समयमै रक्सी पिउने गरेको अहिले पनि भेट्न सकिन्छ ।

कलेनामा व्यापक रुपमा मदिरा बिक्री वितरण हुन थालेपछि जिल्ला प्रहरी कार्यालय डोटीले सो क्षेत्रमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । उक्त क्षेत्रमा बिना अनुमतिपत्र मदिरा बेच्नेहरुलाई प्रहरीले पक्राउ गरी धमाधम कार्वाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । “हामीले जिल्लाका सबै ठाउँमा मदिरा बिक्री वितरणमा कडाइ गरेका छौँ तर, कलेनामा बिहानै रक्सी खाने बढेपछि त्यहाँ अलि बढी कडाइ गर्न बाध्य भएका हौँ , उनले भने ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा मदिराकै कारण अहिलेसम्म एक दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रहरीले यहाँका गाउँ गाउँमा सामुदायिक प्रहरी सेवा गठन गरेर मदिरा सेवना लगायतका विसङ्गतिमा कमी ल्याए पनि कलेनामा खासै सुधार आउन नसकेको स्थानीयवासीको आरोप छ । यहाँका व्यापारीहरुको भनाइअनुसार डोटीमा विगतका वर्षदेखि ४० प्रतिशत खाद्यान्न तथा ६० प्रतिशत मदिरा बिक्री वितरण हुने गरेको छ । घरमा भएका कुखुरा, खसीबोका र अन्नपात बेचेर यहाँका स्थानीयवासीले मदिरा पिउने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाउँदै आएको छ । मदिराका कारण डोटीमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटनाहरु पटकपटक दोहारिइरहे पनि मदिरा बिक्री वितरण नियन्त्रणमा आउन सकेको छैन । तर आजभोलि केहीको दैनिकी फेरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width