किरण स्मृति सेभेन ए साइडमा आजदेखि क्वाटरफाइनल

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७५
kiran

पोखरा, १० असोज। शीतलज्योति युवा क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा जारी दोश्रो स्व. किरण खडका स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताअन्तर्गत बुधबार आदर्श युवा क्लब, भण्डारढिकले चैट-चैट-चैट एफसीलाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।

खेलको मध्यान्तरसम्म चैट-चैट-चैट तोरण गुरुङ र विश्वास श्रेष्ठको २ गोलको योगदानले जित नजिक पुगेपछि अग्रता कायम गर्न नसक्दा ऊ पराजित हुनुपरेको हो । खेलमा आदर्शका विवेक गुरुङ २, अर्जुन रानामगर र बेलप्रसाद गुरुङले समान १ गोल गर्दै टिमलाई क्वाटरफाइनल प्रवेश गराए।

अन्य खेलको नतिजा भने टाइब्रेकरसम्म कुर्नुपर्‍यो । जसमा एलजी एशोसिएसनले मिलनटोल व्ल्याकलाई टाइब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल १-१ बराबरीमा सकिएको थियो ।

गार्डेन एफसी र काजीपोखरीबीच १-१ बराबरीमा सकिएपछि निर्णयार्थ टाइब्रेकर पुगेकोमा गार्डेनले काजीपोखरीलाई २-१ गोलअन्तरले पाखा लगायो।

अको खेलमा दोब्रे एफसीले सत्य युवा क्लबलाई हराउँदै अको चरणमा प्रवेश गर्‍यो । निर्धारित समयको खेल समान १-१ गोलअन्तरमा सकिएकोमा टाइब्रेकरमा दोब्रे एफसी भाग्यमानी ठहरियो ।

यस्तै, रञ्जन मेमोरियले टाइब्रेकरमा मसिना एफसीलाई २-१ गोलले पराजित गर्दा, बिटी क्लब र संगम एफसीबीचको खेलमा संगमले २-१ गोलले जित दर्ता गर्‍यो । बिहीबारबाट क्वाटरफाइनलका खेल शुरु हुने आयोजक क्लब अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘समाज निर्माणमा आजका युवा र खेलकुद’ उद्घोषका साथ जारी प्रतियोगिता शनिबारसम्म चल्नेछ । विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक तथा विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो ।

क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width