२० वर्ष नपुग्दै आमा

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५

लमजुङ, १५ साउन। लमजुङमा ३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन्। कानूनमा २० वर्षअघि विवाह गर्नु बन्देज रहे पनि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति शाखाको रेर्कर्ड अनुसार सो तथ्य फेला परेको हो ।

जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्येमा ३१ प्रतिशत महिला २० वर्ष मुनिका रहेको  अस्पतालकी स्त्री रोग विशेषज्ञ डा सिर्जना हमाल बताइन्। उनका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको छ। यो तथ्यांकले आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बन्न गएको छ।

सानो उमेरमा गरिने विवाहले महिलाको स्वास्थ्यमा असर पर्ने हुँदा यसतर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने डा हमाल बताउँछिन्।

सो अस्पतालमा आर्थिक वर्ष २०७४/७५ मा १ हजार १ सय ९० जनाले प्रसूति सेवा लिएकोमा २० वर्षमुनिका ३ सय ६३ जना रहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत युवराज देवकोटा बताउँछन्। उनका अनुसार प्रसूति सेवाका लागि आउने महिलाको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेका छन्।

बीस देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने अस्पतालकी नर्सिङ प्रमुख राममाया ठकुरी बताउँछिन्। उनले ३५ वर्षभन्दा माथिको उमेरमा पनि प्रसूतिका लागि उपयुक्त नहुने र १९ वर्षभन्दा कम हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम समेत धेरै हुन्छ। यस विषयको सचेतना ग्रामीण तहसम्म पुर्‍याउन संयन्त्र बनाइए पनि प्रभावकारी हुन सकेको देखिएन ठकुरीले भनिन्।

जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा ६ सय ६९ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको र उनीहरूबाट आमा सुरक्षा कार्यक्रम अघि बढाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुरक्षित मातृशिशु फोकलपर्सन अम्बिका केसीले बताइन् ।

आव २०७३/७४ मा १ हजार २ सय २ जनाले प्रसूति सेवा लिएकोमा २ सय २५ जना २० वर्षमुनिका रहेको तथा आव २०७२/७३ मा १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्षमुनिका रहेका छन् । त्यस्तै, आव २०७३/७४ मा ४१ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् जसमध्ये करिब ३० प्रतिशतले जिल्ला सामुदायिक अस्पतालबाट सेवा लिए ।

ग्रामीण तहसम्म मातृशिशु कार्यक्रम सञ्चालन गरेसँगै पछिल्लो समय स्वास्थ्य संस्थामा गर्भपरीक्षण तथा प्रसूति सेवा लिनेको संख्या वृद्धि हुँदैगएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागार्इँले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै