धम्काएर पैसा असुल्न खोज्ने ४ पक्राउ

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४

पोखरा, १७ माघ । व्यवसायी र राजनीतिककर्मीलाई धम्काएर पैसा असुल्न खोज्ने ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की क्षेत्र २ प्रदेशसभा (ख) का सांसद विन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ र बोधराज गिरीलाई धम्काएर उनीहरुले पैसा असुल्ने योजना बनाएको बुझिएको छ ।

मनोज पुनको मान्छे हुँ भन्दै धम्क्याएर व्यवसायीहरुसँग करोडौं रुपैयाँ मागेका थिए । धम्की खानेमा यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालक समेत रहेका श्रोत बताउँछ । उनको नाम भने प्रहरीले खोलेको छैन । पैसा नदिए ज्यान समेत मार्ने धम्की दिएका पीडित बताउँछन् ।

पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको उनीहरुले बताए । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो ।

सांसद थापालाई अल्टिमेटम नै दिएर २ करोड माग गरिएको तर त्यो भन्दा पनि बढी कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ । यस्तै, बोधराज गिरीसँग पनि मोटै रकम मागेको बुझिएको छ ।

मुख्य योजनाकार स्याङ्जा टक्सारका नरबहादुर गुरुङ -शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङ्जा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको सांसद थापाले बताएका छन् । उनले एक महिनाअघि नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका थिए ।

पुस १५ देखि नै नम्बर परिवर्तन गरेर दिनमा ५ पटकसम्म निरन्तर धम्की आइरहेको उनले बताए । एकै मान्छे कहिले भारत र कहिले नेपालबाट फोन गर्ने गरेको स्रोतको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेकाले बिहीबार बिहान १०ः१५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कास्की प्रहरीको तयारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width