गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता   

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
akala

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताउनुभयो । गोरखा भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो । गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत रु २४ लाख १० हजार आठ सय ८५ मा गोर्बुङ राना निर्माण सेवासँग मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको हो । मन्दिर पुनःनिर्माण अलपत्र पारेको कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दासमेत पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ ।

दैनिक सयौँ भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनःनिर्माणको काम नहुँदा अलपत्र मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको पुजारी जैसीले बताउनुभयो । “काठ भएन भनेर ठेकेकारले काम गर्न नसकेको भन्दै आएको छ”, उहाँले भन्नुभयो, “काम अपुरो गरेर ठेकेदार कता गयो भन्ने थाहा छैन ।”

नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताउनुभयो ।

“नगरपालिकाले ठेक्का गराउँदा काठको मूल्य नै नराखी गराएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले हामीले वरपर रहेको पाँच समितिमार्फत काठ जोहो गरिरहेका छौँ, अब केही दिनमा बाँकी रहेको काम अघि बढाउँछौँ ।” मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गर्ने क्रममा पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ स्थानीय वन समितिले काठ उपलब्ध गराउने सर्तमा ठेक्का सम्झौता भएको अध्यक्ष महतको भनाइ छ तर स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराए पनि अपुग भएकाले मन्दिर निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

अहिले थप तीन सामुदायिक वनबाट तीन सय सेफ्टी काठ उपलब्ध भएकाले मन्दिरका लागि आवश्यक झ्याल ढोका निर्माणको काम सुरु भएको अध्यत महतले बताउनुभयो । मन्दिरका लागि आवश्यक झ्याल, ढोका कलात्मक र पुरानै संरचनाअनुसार हुनुपर्ने भएकाले बाहिरबाट कामदारले काम गरिरहेको उहाँको भनाइ छ ।

मन्दिरको पुनःनिर्माणको काम अलपत्र परेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत निर्माणाधीन मन्दिरको अवलोकन गरेर निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको थियो । स्थानीयवासीले भने नगरपालिकाका प्राविधिकको कमजोरीका कारण पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीका जीवन रानाले सम्झौताअनुसारको काठ नपाउँदा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्नुभएको छ । “नगरपालिकासँग सम्झौताका क्रममा नै स्थानीय वन समूहले आवश्यक काठ दिने सर्तमा काम थालेको हो”, उहाँले भन्नुभयो, “समितिले समयमा काठ नदिँदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनाँै अनि काम रोकियो ।” उहाँले आवश्यक काठ उपलब्ध भएको थप चार महिनामा काम सक्ने दाबीसमेत गर्नुभयो । रासस

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width