पोखरामा सामुदायिक थियटरको माग

विजय नेपाल
चैत्र १४, २०७९
drama

पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य समेत रहेकी उनी अहिले भने नाटकको बरोबर दर्शक हुन् । किनकि पछिल्लो समय पोखराको रंगमञ्च निरन्तर रिहर्सलमा छ । गैह्रापाटनमा खुलेको पोखरा थिएटरमा बेलाबखत अनेक विषयवस्तुमा आधारित नाटक मञ्चन भइरहेका छन् । यसले नाटकप्रेमीको थोरबहुत प्यास मेटाएकै छ । कम्पनीमा दर्ता भएको पोखरा थिएटर छिर्न भने पैसा भने तिर्नुपर्छ । त्यसैले नाटक विकासका लागि सामुदायिकस्तरमै नाटकघर आवश्यकता चर्को रुपमा उठेको छ ।

विश्व रंगमञ्च दिवस अवसरमा सोमबार आयोजित ‘कोभिड १९ पछि पोखराको रंगमञ्च र अबको बाटो’ बहसमूलक कार्यक्रममा इन्द्रेणी थिएटरका केदारनाथ पौडेलको यो माग बेस्करि सुनियो । उनले भने, ‘थिएटर महँगो भयो । अब राज्यले सामुदायिकस्तरमा नाटकघर खोल्नुपर्छ । तबमात्र नाटकको विकास हुन्छ ।’ स्वतन्त्ररुपमा नाटकको विकासका लागि लागिपरेका उनले विश्वका विभिन्न फोरममा फरक फरक नाटक हेरेका छन् । ‘हरेक मानिसमा एउटा फरक खालको कला हुन्छ र कलाको कुनै मूल्य हुँदैन,’ पछिल्लो समय चर्चामा रहेको ‘इम्ब्रियोनिक’ का लेखक तथा निर्देशक पौडेल भन्छन्, ‘हामीलाई फरक तरिकाले पढाइएको रहेछ कि भन्ने लाग्छ, ५० जना दर्शकले नाटक मन पराए हिट भनी भाष्य छ ।’ नेपालको रंगकर्म कुवाको भ्यागुतोजस्तो भएको उनको तर्क छ ।

मुलुकमा ३ तहको सरकार हुँदा समेत नाटकमा खास सहयोग छैन । नाटक ‘आतुरकाल’ का लागि पोखरा महानगरले सहयोग आश्वासन दिएकोमा अझै रकम प्राप्त हुन नसकेको उनको गुनासो छ ।

यस विषयमा पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल उनको तर्कलाई थोरबहुत स्वीकार्छन् । कुलपति ढकालले भने, ‘अहिले महानगरको शिक्षा महाशाखामा यस्तै ७ फाइल अड्किएका छन् ।

‘नेपालको रंगकर्म कुवाको भ्यागुतोजस्तो’

प्रतिष्ठान स्वायत्त हुन सकेन ।’ उनले कतिपयले कार्यक्रम गर्दा आफूले खल्तीबाट पैसा हाल्नुपरेको गुनासोसमेत गरे । प्रतिष्ठानले बनाएका नियम कार्यान्वयनमा जान नसक्दा कला क्षेत्रमा खास काम हुन नसकेको स्वीकारे । यद्यपि पोखरामा सुविधासम्पन्न थिएटर आवश्यक रहेकोमा उनको पनि जोड छ ।

पोखरा थियटर अध्यक्ष परिवर्तन नाटकको लागि स्वयं व्यक्तिको भित्री दिलबाटै इच्छा हुनुपर्छ भन्छन् । उनका अनुसार नाटकमा लाग्दा थकाइ लाग्छ, भोकै पनि बस्नुपर्छ । तर कोरोनापछिको समय भने आफूले उज्ज्वल देखेको सुनाए । ‘पहिले पहिले आफूलाई नाटकमा लाग्नेहरुले किन थिएटर नबनाएका होलान् भन्ने लाग्थ्यो । दुईचार नाटक खेलिसकेपछि रहरैमा नाटकघर खोल्यौं,’ उनले विगतको दुःख सम्झे, ‘एउटा बच्चाले अर्को बच्चालाई हुकाउँदा अनुभूति जे हुन्छ, त्यस्तै भयो । तर पनि २ वर्षमा राम्रै भाको थियो । रंगकर्मी उत्पादन भएका थिए ।’

आपूm कतिपय समय एक्लै नाटकघरमा झार उखेलेर बसेको पीडा पनि उनले स्मरण गरे । कोभिडपछि के हुन्छ भन्ने चिन्ताबीच अहिले आफू जता गए पनि पोखराको नाटक र थियटरको बारेमा बहस हुने गरेको बताउँछन् । ‘कोरोनाको बेला चिन्तनमनन गर्ने समय भयो । अहिले १०/१५ जना फुलटाइमर राखेका छौं । विद्यालयस्तरमा पनि नाटक छिरेको छ,’ परिवर्तनले भने, ‘किनकि नाटक फुर्सद मिलाएर पार्ट टाइममा गर्ने भन्ने होइन रैछ । समय दिनुपर्छ । भविष्य राम्रो छ ।’ एक दुई जनालेमात्र गरेर नहुने भन्दै उनले नाटकको विकासका विद्यालय नै खोल्नुपर्ने उनको जोड छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य जसु गुरुङले पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएको भन्दै नाट्य क्षेत्रसँग सम्बन्धित गतिविधिमा प्रतिष्ठानले पनि सघाउने प्रतिबद्धता जनाइन् । प्रेस क्लब उपाध्यक्ष राजाराम पौडेलले सहजीकरण गरेको कार्यक्रममा क्लब अध्यक्ष एकराज गिरीले समसामयिक विषयबस्तुमा आधारित रही बहस चलाउँदै जाने क्लबको उद्देश्य हो भने । सो अवसरमा पोखरा थिएटरको प्रस्तुति १ वैशाखदेखि मञ्चन हुने उर्वशी सूक्तको पोस्टर सार्वजनिक गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै