पर्यटकलाई भेडीगोठ पुर्‍याउन नयाँ पदमार्ग खोजी

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७९
lipe hill (3)

पोखरा । भेडा र भैंसी चर्ने लेकका दशकौं पुराना बाटोहरुमा पदयात्री हिंडाएर पर्यटनको नौलो स्वाद पस्कने उद्देश्यका साथ लमजुङको दोर्दी गाउँपालिकामा नयाँ पदयात्रा मार्गको खोजी तथा अनुसन्धान सम्पन्न भएको छ ।

दोर्दी गाउँपालिका र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको संयुक्त पहलमा जिल्लाको इलमपोखरीबाट लिपेलेक हुँदै दाम्राङ पुग्ने ३ रात ४ दिनको नयाँ पदमार्ग हालै पहिचान गरिएको हो ।

अन्नपूर्ण क्षेत्रलगायत नेपालका थुप्रै लोकप्रिय पदयात्रा मार्ग मोटरबाटोले नासेपछि विकल्परुपमा नयाँ पदमार्गको खोजी गरिएको हो । यो मार्गको पदयात्रालाई विस्तार गरी ९ रात १० दिनसम्मको बनाउन सकिने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । लोपोन्मुख भेडीगोठ र भैंसी गोठमा पर्यटक पुर्‍याएर यिनै संरचना वरपर पर्यटकलाई रात बिताउने वातावरण तयार गर्ने गरी यो मार्ग विकास गर्न लागिएको टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले बताए ।

एक्याप क्षेत्रभन्दा बाहिर पर्ने यो पदमार्गको अधिकांश भाग जंगल र लेकाली पाखाले ढाकेको छ । पहिलो रात २ हजार १ सय ७० मिटर उचाइमा अवस्थित इलम पोखरीमा बिताउन सकिन्छ । चैत पूर्णिमा र ठूली एकादशीमा मेला लाग्ने यो ठाउँमा ठूलो पोखरी र गजुर राख्ने ठाउँमा निगालोघारी निस्किएको इलमदेवीको अनौठो मन्दिर छन् । दोस्रो रात २ हजार ९ सय ५० मिटर उचाइमा रहेको धौथलीमा बिताउन सकिन्छ । बाक्लो लालीगुराँसको जंगल यहाँको विशेषता हो । त्यसपछि भोलिपल्ट बिहान आधा घन्टा माथिको लिपेहिल अवलोकन गर्न सकिन्छ । ३ हजार १ सय मिटर उचाइमा रहेको यो नांगो थाप्लो नै पदमार्गको सबैभन्दा उच्चतम् बिन्दु हो ।

३ हजार १ सय मिटर उचाइको यो नांगो थाप्लो नै पदमार्गको सबैभन्दा उच्चतम् बिन्दु हो

लिपेहिलबाट हिमालचुली, मनास्लु, बौद्ध हिमाल, अन्नपूर्ण, डा. हर्क पिक लगायतका हिमाली चुचुरा अवलोकन गर्न सकिन्छ । नजिकै रहेको ढुंगेसाँघु पनि आकर्षणको बिन्दु रहेको छ । तेस्रो दिन भने ओरालो यात्रा गरी गोरु जुरे डाँडालाई बायाँ पारेर दाम्राङ रात बिताउन पुग्न सकिन्छ । यहाँ आकर्षक दाम्राङ पोखरी र गुफा छन् । खुलाल, पाण्डे र घले गरी ३ वटा ऐतिहासिक गढीहरु पनि नजिकै छन् । चौंथो दिन भने थप ओरालो पदयात्रासँगै नौथर शेरा पुगी यात्रा टुंग्याउन सकिन्छ । दाम्राङबाट सेरासम्म १७ किलोमिटर मोटरयात्रा गर्न पनि सकिन्छ । पुरानो गोठ संस्कृति, विशाल लालीगुराँसको जंगल, पोखरी र मठमन्दिर यो पदमार्गको विशेषता भएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले जानकारी दिए । जैविक विविधता, पानी र पूर्वाधारको हिसाबले यो मार्ग केम्पिङमा आधारित पदयात्राका लागि उपयुक्त रहेको नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष शेषकान्त शर्माले बताए । टानले विगतमा पनि नयाँ पदमार्ग अध्ययन, अनुसन्धान र खोजी गर्दै आएको र यो मार्गलाई पनि थप विस्तार गरेर अगाडि बढ्न सकिने अवस्था रहेको टान गण्डकी प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताए ।

नेटाँचेबाट उखण्ड, मेमे पोखरी, १२ पोखरी, चित्रे डाँडा हुँदै लमजुङकै बेंसीसहरसम्म पदमार्ग विस्तार गरी यसलाई १० दिनको बनाउन सकिने दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले सुनाए । नेटाँचेबाट दूधपोखरी, चुमभ्याली, लार्के पास हुँदै मनाङ निस्कने अर्को मार्ग पनि विकास गर्ने भविष्यको योजना उनले सुनाए । पृथ्वी राजमार्गको डुम्रे बजार वा पोखराको वेगनासतालबाट बसयात्रा सुरु गरी लमजुङको सुन्दरबजार र राइनास नगरपालिकास्थित मस्र्याङ्दी माथिको पाउँदी पुल तरेर राइनासकोटमा पहिलो रात बिताउन पनि सकिन्छ । यसो गर्दा यात्रा थप १ दिन लम्बिन्छ । राइनासकोटबाट पैदल वा बसयात्रा गरी गौंडा हुँदै जोर्नी पुगेर पदयात्रा सुरु गर्न सकिन्छ । जोर्नीबाट इलमपोखरीसम्म जिपहरु जान सक्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width