टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

रासस
फागुन २, २०७९
Turkey Syria Earthquake Anger

AP Photo/Petros Giannakouris

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ ।

अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाई हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ ।

भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।

गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो । सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवै जना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए ।

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् । बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोस्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर हातायमा भग्नाबशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ ।

खोज टोलीहरू समय वित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् । विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन् । उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाई भएको बताएका छन् । उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् ।

उत्तरपश्चिम सिरियाको जाबलेहका नागरिक सुरक्षा प्रमुख अला मौबाराकले भन्नुभयो, “यदि हामीसँग आधुनिक उपकरण भएको भए हामी सयौंको ज्यान बचाउनसक्थ्यौं ।”

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts