‘वीरेन्द्र सिल्ड र राष्ट्रपति रनिङ सिल्ड उस्तै ’

आदर्श समाज सम्वाददाता
माघ २६, २०७९
rastrapati Raju Thapa

स्याङ्जा । संघीय सांसद राजु थापाले ३ दशकअघिको वीरेन्द्र सिल्ड र अहिले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उस्तैउस्तै भएको बताए । यतिका वर्ष बितिसक्दा पनि परिवर्तन गर्न नसक्नु दुखद् भएको बताए ।

पुतलीबजार नगरपालिकामा सञ्चालित ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको बुधबार उद्घाटन गर्दै सांसद् थापाले हिजो र आज उस्तै तरिकाले सञ्चालन भइरहेको बताए ।

‘मुलुकमा ठूलाठूला राजनीतिक एवं व्यवस्था परिवर्तन भए पनि आम मानिसका अवस्था परिवर्तन हुन नसक्दा नयाँ सोच र जोस भएका युवाहरु विदेशिन बाध्य हुनु परेको छ’ उनले भने, ‘हामीले भोलिका पुस्ताका लागि सोच्नुपर्ने भएको छ । आजको आवश्यकता हेरी शिक्षामा परिवर्तन गर्नैपर्छ ।’

भूगोल सुहाउँदो कला, संस्कृति, शिक्षा, खेलकुदलगायत विषयमा हरेक बालबालिकालाई राष्ट्रिय भाव जगाउन सरकार, शिक्षक, विद्यार्थी र अभिभावकले पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, नगर प्रवक्ता मनोज पौडेल, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला समन्वय समिति सदस्य रेमबहादुर राना, शिक्षा शाखा अधिकृत गोविन्द सुवेदी, पुतलीबजार शिक्षक संघका सभापति लेखनाथ शर्मा, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, विद्यार्थीद्वय परिवेश मरासिनी र गरिमा भुजेल लगायतले बोलेका थिए ।

आधारभूत र माध्यमिक तहका गरी दौड (१ सय, २ सय, ८ सय, १५ सय मिटर), लङजम्प, हाइजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, बोरा दौड, चम्चा गुच्चा दौड, सट पुटलगायत खेलहरु समावेश गरिएको प्रतियोगिता संयोजक मुक्त रानाले जानकारी दिए ।

४ दिनसम्म चल्ने प्रतियोगितामा पुतलीबजारका ३२ वटा विद्यालय सहभागी छन् । उद्घाटन अघि गरिएको मार्चपासमा भूतपूर्व सैनिक आवासीय माध्यमिक विद्यालय प्रथम, ज्ञानोदय आवासीय मावि द्वितीय र स्याङ्जा माध्यमिक विद्यालय तृतीय भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width