सिद्धका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस

आदर्श समाज सम्वाददाता
माघ २०, २०७९
siddha school

पोखरा । पोखरा १५ फलेपाटनस्थित सिद्ध माविका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गरिएको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका करिब १ सय ५० जना छात्रछात्राहरूलाई पोखरा कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुलको सहयोगमा स्पोर्ट्स ड्रेस वितरण गरिएको हो । उनीहरुलाई कम्युनिटी सपोर्ट सेन्टरले १ सय थान र सेन्ट मेरिज हाई स्कुलले ५० थान ड्रेस सहयोग गरेका हुन् ।

कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले विपन्न वर्गका नानिबाबुहरुलाई स्पोर्ट्स ड्रेस सौजन्य गरेकोमा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । उनले पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, युवा स्वरोजगार र महिला उद्यमशीलतालाई सँगसँगै लगेमात्र मानवीय विकास हुने बताए ।

विद्यालय प्रअ गुरुदत्त कोइरालाले अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी कमजोर आर्थिक पृष्ठभूमिबाट आउने हुँदा अहिलेको युगमा समयसापेक्ष सिकाइ र अतिरिक्त क्रियाकलापका लागि निजी विद्यालय सरहको सिकाइ प्रदान गर्न सहयोगी संस्थाहरूसँग हातेमालो गर्दै आएको बताए ।

पोखरा कम्युनिटी सेन्टरकी को–अर्डिनेटर निर्मला मालीले विगतका दिनहरूमा पनि विद्यालयसँग समन्वय गर्दै आएकोमा यसपालि पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । कम्युनिटी सेन्टरले विशेष गरेर समुदायमा रहेका कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई प्राथमिकतामा राखेर ट्युसन, खेलकुद, लाइब्रेरीमार्फत सहयोग गर्दै आएको उनको भनाइ छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आलेको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width