पोखरा बहुमुखीकाे अध्यक्षमा नरेन्द्रमान दोहोरिए

आदर्श समाज सम्वाददाता
माघ ७, २०७९
PMC Team

पोखरा । पोखरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा नरेन्द्रमान लालचन दोस्रो कार्यकालका लागि चयन भएका छन् । ८ सदस्यीय समिति शनिबार सर्वसम्मत चयन भएको हो ।
शनिबार भएको क्याम्पसको ३६औं साधारणसभा तथा सातौ अधिवेशनले कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ ।
चुनिएका सदस्यहरुमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना बाँस्तोला, सोजन शेरचन, प्रकाश पहारी र उमा ठकुरी छन् ।

यो पोखराकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । २०४४ सालमा पोखराको टुँडीखेलमा स्थापित यो क्याम्पस नयाँबजार हुँदै अहिले पृथ्वीचोक नजिकै शान्तिवनमा सरेको छ । हालैमात्र नयाँ भवन बनाएर यो क्याम्पस नयाँबजारबाट शान्तिवन झरेको हो । क्याम्पसले सहयोग उठाएरै करिब ५ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न भवन बताएको हो ।

साधारणसभाको पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले उद्घाटन गरे । जसी नै मेयर रहँदा महानगरले उपलब्ध गराएको जग्गामा क्याम्पसले सहयोग उठाएर भवन तयार पारेको थियो ।

क्याम्पस साधारणसभामा बोल्दै संचालक समितिका उपाध्यक्ष भीम गौतमले क्याम्पसले क्युएए पाउने तयारीमा रहेको बताए । प्राध्यापक संघका सभापति हस्तबहादुर थापा ३६ वर्षपछि क्याम्पसले आफ्नै भवन बनाएकोमा खुसी साट्न पाएको बताए । विभिन्न अप्ठ्यारोबीच पनि पोखरा महानगरले जग्गा उपलब्ध गराएको उनले बताए ।

क्याम्पसका पुर्व प्रमुख प्राडा यादव गौंडेलले विगतको आरोह अबरोहका बाबजुत क्याम्पस तयार भएको र क्याम्पसका आवश्यकता आगामि दिनमा अझै बढ्ने बताए । क्याम्पसका त्रिवि प्रतिनिधि तेजनारायण अधिकारिले क्युएए पाएपछि क्याम्पस अझै अब्बल हुने बताए । उनले अहिले भएका कार्यक्रमलाई अझ वृद्धि गर्न सुुझाए ।

समाजसेवी विश्व शाक्यले क्याम्पस भवन बनाउन जग्गा उपलब्ध गराउने पोखरा महानगर र निर्माण समितिको सक्रियताका कारण कामले पूर्णता पाएको बताए । ‘जग्गा दिने र लिने दुवैको संकल्पका कारण क्याम्पसले पूर्वाधार बनाउन सक्यो । भवन भएर मात्र संकल्प पूरा हुदैन अब आगामी दिनमा संस्थालाई बृहत बनाउनु पर्छ,’ उनले भने ।

सस्थापक सञ्चालक समिति सदस्य आनन्दराज मुल्मीले पछिल्लो समय मुलुकको शिक्षा कहाँ जादैँछ भन्ने थाहा नभएको बताए । शिक्षा निरन्तर अन्योलको विषय बनेको उनले बताए । पोखरा शिक्षा क्षेत्रमा उत्कृष्ट सहर बन्नुपर्ने भएपनि त्यो हुन नसकेकोमा मुल्मीको चिन्ता थियो ।

पोखरा महानगरका पूर्व प्रमुख मानबहादुर जिसीले शिक्षा पूर्वाधार सरस्वतीको मन्दिर भएकोले त्यस्ता मन्दिर बनाउन सबैको सहयोग चाहिने बताए । उनले कोभिडको अप्ठ्यारोमा पनि काम गरेर नमूना देखाएको बताए । उनले क्याम्पसलाई गण्डकीको शिक्षा केन्द्र बनाउन सकिने बताए । ‘आम रुपमा सहयोग आव्हान गरेर क्याम्पसलाई थप बलियो बनाउनुपर्छ । सबैको पहुँचमा यो क्याम्पस बन्नुपर्छ,’ उनले भने ।
क्यापस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पस सबैको साझा सम्पत्ति भएकोले यसको उन्नतीमा पोखरा जाग्नुपर्ने बताए ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले कोभिडको मारमा परेको अवस्थामा पनि पूर्वाधार तयार पार्न सकेको बताइन् । कोरोनाको मारमा परेको अप्ठेरो समयमा पनि काम गर्न सकेको उनले भनाइ राखिन् । ‘कतिपय गाह्रो थियो । तर, पनि पूर्वाधार तयार भयो,’ उनले भनिन् । उनले आगामी दिनमा होस्टेल बनाउने क्याम्पसको योजना रहेको र त्यसका लागि सहयोग जुटाउन खोजेको बताइन् । यो क्याम्पसमा अहिले स्नातक तहमा अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा ४ वर्षे बिबिएस र बिएमा अध्यापन हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै