स्वरसम्राटको स्मरण

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७९
narayan gopal evening

पोखरा । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औंं पुण्यतिथि अवसरमा सोमबार नारायणगोपाल स्मृति साँझ–२०७९ भएको छ ।

रेडियो अन्नपूर्ण, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको स्मृति साँझमा गायकगायिका रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काले, रजनी राई र उषा गुरुङले स्वरसम्राटद्वारा संगीत तथा स्वरवद्ध गीत प्रस्तुत गरे ।

उनीहरुले मलाई नसोध कहाँ दुख्छ घाउ, गल्ती हजार हुन्छन्, केही मिठो बात गर, तिमीलाई म के भनुँ, मैले पुण्य मन पराएँ, तिम्रो जस्तो मुटु मेरो पनि, मेरो कथा खाली खाली, हिमाल सरी म अग्ली रहेछु, तिम्रो मनमा लुकेको कुरा, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, एउटा मान्छेको मायाले कति, पर्खि बसे आउँला भनि गरी एक दर्जन गीत प्रस्तुत गरे ।

उनीहरुलाई तबलामा राजा मुखिया, कि–बोर्डमा महिपाल लामा, बेस गीटारमा तेज केसी अक्टाप्याडमा विजय क्षत्री र ऋदम गीटारमा सुमन तामाङले साथ दिए । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पूर्व सदस्य सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नारायणगोपाल सबैको मन मनमा बस्न सफल भएको बताए ।

रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले नारायणगोपाल र आफ्नो परिवारबीच राम्रो सम्बन्ध रहेको स्मरण गरिन् । पोयुसाँप अध्यक्ष उपेन्द्र पौडेलले पोखराले के गर्छ भनेर सिंगो देशले नै नियाल्ने गरेको भन्दै नारायणगोपाललाई सम्झने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

१९९६ असोज १८ मा काठमाडौें किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ गीत रेकर्ड छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै