पुसमा टुर दी पोखराको छैटौैं संस्करण

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७९
Tour the Pokhara Photo

पोखरा । ‘टुर दी पोखरा’ को छैटौं संस्करण पुस ६ गतेदेखि हुने भएको छ । आयोजक साइकल सिटी पोखराले आइतबार पोखरामा ‘छैटौं टुर दी पोखरा २०२२’ को घोषणा गरेको हो ।

ले सन् २०१५ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको टुर दी पोखरा कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा रोकिएको थियो । छैटौं टुर दी पोखरा २०२२ को कार्यक्रम अन्तर्गत पुस ६ गते दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता पनि हुने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता कार्यक्रमलाई यस वर्षबाट टुर दी पोखरा कार्यक्रममा समावेश गरिएको कार्यक्रममा संयोजक राजन गोगंजुले जानकारी दिए ।

सोही कार्यक्रम अन्तर्गत नै पुस ७ गते बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म करिब ७२ किलोमिटर साइकल र्‍याली हुने छ ।

यस्तै पुस ९ गते पोखरामा बृहत् साइकल र्‍याली हुनेछ । पुस ९ गते पोखरा महानगर भित्रको १९ किमी ¥याली संयोजक गुरुङले जानकारी दिए । प्रदर्शनी केन्द्रबाट सुरु भई पुनः प्रदर्शनी केन्द्रमा समापन हुने र्‍यालीमा १ हजार ५ सय भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । समापनका अवसरमा विविधि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, स्लो साइकल प्रतियोगिता र जिगज्याग साइकल प्रतियोगिता समेत हुनेछ ।

कोरोनाका कारण २ वर्ष रोकिएको टुर दी पोखराले यो वर्षबाट निरन्तरता पाएको छ

साइकल दौड प्रतियोगिताको आयोजक पोखरा महानगरपालिका हुनेछ । पोखराको रानीवनमा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ३०, २० र १० हजार प्राप्त गर्नेछन् ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी बनाउन टुर दी पोखरा कार्यक्रमले सघाउ पुग्ने बताए । उनले पोखरालाई औपचारिक रुपमा पर्यटन सहर घोषणा गर्न तयारी सुरु गरिसकेको बताए । ‘हामी संघीय सरकारबाट खास किसिमको नाम दिएर घोषणा गरोस् भन्ने चाहन्छौं’, उनले भने, ‘यदि संघीय सरकारबाट भएन भने पनि प्रदेश सरकार र पोखरा महानगरले एक भव्य समारोहका बीच घोषणा गर्नेछ, हामीले त्यसको तयारी सुरु गरिसकेका छौं ।’

पोखरा सहर पर्यटकको रोजाइले मात्रै नभई खेलकुद, शिक्षा, स्वास्थ्यलगायतको समेत हब बन्दै गइरहेकोले पर्यटन राजधानी घोषणा गरेर पोखराको आर्थिक अवस्थालाई चलायमान बनाउने महानगरको योजना रहेको समेत उनले सुनाए ।
छैटौं टुर दि पोखरा २०२२ सम्पन्न गर्न करिब २५ लाख खर्च हुने संयोजक राजन गोगंजुले जानकारी दिए । छैटौं टुर दी पोखरालाई पोखरा महानगरले ५ लाख सहयोग गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width