आदर्श समाजसँग सहकार्यका लागि आदर्श समाज समन्वय परिषद्को पत्र

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७९
Adarsha Samaj

पोखरा, १६ कात्तिक । आदर्श समाज राष्ट्रिय दैनिक र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्, नेपालबीच आपसी सहकार्यका लागि परिषद्ले बुधबार पत्र हस्तान्तरण गरेको छ ।
पोखरा–८ न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रममा परिषद्का प्रवक्ता सन्तोष तिमल्सिनाले पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सहकार्यका लागि पत्र हस्तान्तरण गरेका थिए । समाजलाई समृद्ध बनाउन परिषद् र पत्रिकाको उद्देश्य समान भएका कारण सहकार्यको तयारी अगाडि बढाइएको प्रधानसम्पादक बास्तोलाले जानकारी दिए ।

उक्त अवसरमा परिषद्का वरिष्ठ उपाध्यक्ष हंसराज ढकाल क्षत्री, सहसंयोजकद्वय विकासराज वराल र प्रकाशलाल श्रेष्ठ, नेपाल च्याप्टरका सचिव हरिबहादुर ढकाल लगायतको उपस्थिति रहेको थियो । परिषद्ले गत आर्थिक वर्षमा स्थानीय निकाय र विद्यालयसँग समन्वय गर्दै कास्कीमा ४८ जनालाई शैक्षिक अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१७ अक्टोबर ९ मा परिषद्को स्थापना भएको हो । आफ्नो जन्मभूमि, परिवार र शुभचिन्तकहरुलाई छाडी आफ्नो जीवनस्तर उकास्नका खातिर विदेशमा छरिएर रहेका कस्केलीहरुको मिलनविन्दुको रुपमा समेत उक्त संस्था रहेको छ ।

आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने र आफूले हासिल गरेका सीपमार्फत् जिल्लाको एकीकृत विकासमा योगदान दिने उद्देश्य पनि संस्थाको रहेको छ । विश्वका विभिन्न मुलुकहरुमा कार्यरत कस्केली समाजलाई केन्द्रित रुपमा जिल्लासँग जोडी कार्य गर्ने अभियानमा पनि संस्था रहेको छ ।

यो संस्था जिल्लाको समग्र विकासमा सहयोग पुर्याउने गैरनाफामूलक, गैरराजनीतिक सामाजिक संस्था हो । जिल्लाका दैवी प्रकोपपीडित र गरिब तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्न राहत कोषमार्फत समेत संस्थाले काम गर्दै आएको छ । अहिलेसम्म १४ देशमा १६ संस्था र नेपालसहित २५ देशको आवद्धता परिषद्मा रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width