अन्तर्राष्ट्रिय विशुद्ध साकाहारी महोत्सव हुने

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
Vegan (2)

पोखरा । पोखरामा आगामी असोज २ देखि ४ सम्म हिमालयन भिगन महोत्सव–२०७९ हुने भएको छ ।

वल्र्ड भिगन अर्गनाइजेसन नेपालको आयोजना तथा नेपाल भेजिटेरियन सोसाइटी पोखराको सहआयोजनामा महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलनमा जनाइयो । नेपालीमा यसलाई ‘प्रथम बृहत् तथा विशुद्ध शाकाहारी अन्तर्राष्ट्रिय महोत्सव’ नाम दिइएको छ ।

पोखरा ग्रान्डमा हुने महोत्सवमा १ सय भन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताले ज्ञान र अनुभव बाँड्ने आयोजक संस्थाका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । यस्तै प्रकृतिको महोत्सव भदौ २८ र २९ मा लुम्बिनी तथा काठमाडौंमा समेत भदौ ३० देखि असोज १ सम्म हुनेछ ।

जंगल विनास र पृथ्वी तात्ने समस्याको जड पनि माछामासु र पशुजन्य उत्पादन नै कारक

अध्यक्ष न्यौपानेका अनुसार महोत्सवमा ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, कलाकारको सहभागिता, भीगन खानाका बिक्री कक्ष, भिगन प्रतिस्पर्धा, पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शन, अन्तरक्रिया, फिटनेस पार्क, ५ किमी म्याराथन दौड र बाल क्रियाकलाप समावेश हुने छन् । न्यौपानेले विश्वमा उत्पन्न महामारीहरुको प्रमुख कारक मासुजन्य पदार्थ भएको दाबी गरे । जंगल विनास र पृथ्वी तात्ने समस्याको जड पनि माछामासु र पशुजन्य उत्पादन नै कारक भएको दाबी उनले सुनाए । ‘अब हामीले हाम्रो डाइट लिने तरिकामा परिवर्तन गर्नुपर्छ,’ उनले भने, मासुजन्य पदार्थ हानिकारक भनेर बैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् ।

नेपाल भेजिटेरियन सोसाइटी पोखराका अध्यक्ष ऋषिराम सापकोटाले शाकाहारवाद, प्रकृतिवाद र अहिंसावादको मार्ग आफ्नो संस्थाले अंगिकार गर्दै आएको बताउँदै आफूहरु एक हिसाबले समाज परिवर्तनका खातिर एन्टिकरेन्ट जस्तो भएर अघि बढेको बताए । मानिसको भोजनशैलीमा विरोधाभाष रहेको बताउँदै उनले घाँस खाने हात्ती मानिस भन्दा धेरै बाँच्ने बताए । माछामासुले महामारी निम्त्याउने गरेको दाबी गर्दै उनले आफूहरु ‘प्रकृतितर्फ फर्क’ अभियान लिएर अघि बढेको स्मरण गराए ।

गण्डकी बोर्डिङ स्कुलका शिक्षक लक्ष्मीनारायण ढकालले मासु र दुग्धजन्य पदार्थ सेवनका कारण रक्तनलीमा नचाहिने पदार्थ जम्ने र विभिन्न रोगको कारण बन्ने धाराणा राखे । भिगन भन्नाले माछामासु र दुग्धजन्य पदार्थ सेवन नगर्ने तथा जनावरजन्य पदार्थबाट बनेका पोशाक र सामग्री उपयोग नगर्ने भन्ने अर्थ पनि कार्यक्रममा सुनाइएको थियो । ताओ एसोसिएसन अफ नेपालले महोत्सवलाई सघाउने बताइएको छ । कार्यक्रम संचालन महेश पराजुलीले गरेका थिए । यसअघि आनन्द दाहालले परिचयात्मक कार्यक्रम अगाडि बढाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width