अब पोखरामै सौन्दर्य शास्त्र र फेसन डिजाइनको पढाइ

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
Pokhara United Academy

पोखरा, १५ साउन । पोखरा युनाइटेड एकेडेमीले सौन्दर्यशास्त्र र फेसन डिजाइनको पढाइ सुरु गर्ने भएको छ । पोखरा– १२ भद्रकाली मार्गमा रहेको एकेडेमीले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा ती विषयको पढाइ सुरु गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आजको आवश्यकता, शिक्षा सीप, आत्मनिर्भरताका लागि १ विद्यार्थी १ प्राविधिक विषय भन्ने नारासहित कक्षा ११ र १२ मा नयाँ विषयको पढाई अगाडि बढाउन लागेको एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । सीपमूलक र व्यावहारिक शिक्षालाई ख्याल गर्दै ती विषयको पढाइ सुरु हुन लागेको उनले बताए ।

विगत १५ वर्षदेखि सञ्चालित एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई सञ्चालन गर्दै आएको छ । नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यावसायिक विषयलाई उच्च प्राथमिकता दिए अनुसार आधुनिक समयको माग र आवश्यकता महसुस गरी विद्यार्थी स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै पढाइ सुरु गर्न लागिएको एकेडेमीले जनाएको छ । पढ्नका लागि विद्यार्थीले विद्यालयको नियमित फि र भर्ना शुल्क तिरे हुने तर व्यावहारिक अभ्यासकार्यका लागि भने ४५ हजार रुपैयाँ हाराहारी वार्षिक अतिरिक्त शुल्क लाग्ने जनाइएको छ ।

नेपाल सरकारको १ व्यक्ति १ रोजगार कार्यक्रमलाई ध्यान दिँदै स्वदेशमा नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सकिने तथा विदेशमा पनि सजिलै रोजगारी प्राप्त गर्न सकिने हिसाबले फेसन डिजाइन र सौन्दर्यशास्त्रको महत्व भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा सौन्दर्यकर्मीद्वय कमला श्रेष्ठ र मीना गुरुङ, फेसन डिजाइनर विशाल गुरुङ, विद्यालयका प्राचार्य बयानबहादुर गोदार, एकेडेमीको म्यानेजमेन्टतर्फका संयोजक राजकुमार कार्कीले भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन डिल्लीराम तिवारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै